जनकपुरधाम, १४ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता ऐतिहासिक कालदेखि नै विभिन्न प्रकारका आतंक र उत्पीडनको शिकार हुँदै आएको बताएका छन् ।

जनकपुरधाममा पार्टीको नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले इतिहासलाई स्मरण गर्दै वर्तमान समस्याहरूको पनि स्पष्ट चित्रण गरे ।

अध्यक्ष ठाकुरले भने, ‘नेपाली जनता लामो समयदेखि निरंकुश राणा शासन र राजतन्त्रको आतंकबाट गुज्रिसकेका छन् ।’

उनले जोड दिँदै भने, ‘राजतन्त्रको अन्त्यपछि पनि मधेसी जनता राज्यको दमन र विभेदबाट मुक्त हुन सकेका छैनन् । अझै पनि राज्य आतंक मधेसी समुदायमा व्याप्त छ ।’

उनले सबै नेपालीलाई सबैखाले आतंकवाद र उत्पीडन विरुद्ध एक भएर लड्नुपर्ने आवश्यकता औंल्याए । ‘सत्य र न्यायका लागि हामी एकजुट नभई हुन्न,’ उनले थपे ।

भारतको जम्मु–कश्मीर राज्यको पहलगाम क्षेत्रमा हालै भएको आतंकवादी आक्रमणको चर्चा गर्दै ठाकुरले घटनाप्रति गहिरो दुःख र आक्रोश व्यक्त गरे ।

‘निर्दोष पर्यटकहरूलाई धार्मिक र जातीय पहिचानका आधारमा लक्षित गरेर हत्या गर्नु अमानवीय र अत्यन्त निन्दनीय कार्य हो,’ उनले भने ।

यस्तै घटनाबाट प्रेरणा लिएर नेपालमा पनि जात र धर्मका आधारमा घृणा फैलाउने प्रयत्न भइरहेको भन्दै अध्यक्ष ठाकुरले त्यसप्रति चासो व्यक्त गरे ।

नेपालमा पछिल्ला दिनमा हिन्दु राष्ट्र पुनःस्थापनाको माग उठिरहेकाप्रति अध्यक्ष ठाकुरले व्यंग्यात्मक टिप्पणी गरे । उनले भने, ‘हिन्दु राष्ट्र बनायौं भने के पशुपतिनाथको लड्डु आफैं घरघरमा पुग्ने हो र?’

उनका अनुसार नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा सबै धर्म, जात र समुदायलाई समान अवसर र सम्मान दिएर मात्रै देशको समुन्नति सम्भव हुन्छ ।

‘नेपालमा हिन्दु, मुस्लिम, किराँत, इसाई लगायत सबै धर्मावलम्बीको अस्तित्व छ । सबैको हक र पहिचान सुरक्षित नगरीकन राष्ट्र बलियो बन्न सक्दैन,’ ठाकुरले स्पष्ट पारे ।

ठाकुरले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई लोसपालाई बलियो र संगठनात्मक रूपमा सशक्त बनाउन आह्वान गरे ।

‘हामी राजनीतिक, सामाजिक र आर्थिक अधिकारका लागि संघर्षरत छौं । यसलाई मजबुत बनाउन पार्टीको हरेक तहमा सक्रियता आवश्यक छ,’ उनले भने ।

त्यस्तै, उनले पार्टीभित्र एकता र अनुशासनलाई प्राथमिकता दिनुपर्ने, स्थानीयस्तरबाटै संगठनलाई व्यापक बनाउने काममा लाग्नुपर्ने सन्देश पनि दिए । ठाकुरले अझै मधेशको हकअधिकार सुनिश्चित गर्न संघर्ष जारी राख्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा ठाकुरले नेपालमा व्याप्त सामाजिक असमानता, धार्मिक ध्रुवीकरण र जातीय विभेद विरुद्ध सचेत रहन सबैलाई आह्वान गरे ।

कार्यक्रममा लोसपाका केन्द्रीय सदस्यहरू, प्रदेश र स्थानीय तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।