सहमहामन्त्रीलाई बदनाम गर्ने लिङ्देनको अभिव्यक्तिविरुद्ध कांग्रेस धनुषाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम, १४ वैशाख । नेपाली कांग्रेस धनुषाले शुक्रवार संसद बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिको कडा विरोध जनाउँदै प्रधानमन्त्रीमार्फत कारबाहीको माग गरेको छ ।
पार्टीका सहमहामन्त्रीहरूलाई लक्षित गरी गरिएको आपत्तिजनक अभिव्यक्तिले प्रतिष्ठामा आँच पुर्याएको भन्दै कांग्रेस धनुषाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाएको हो ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले भाटभटेनी लुटपाट प्रकरणसँग सम्बन्धित धारणा राखेका थिए । उनले प्रत्यक्ष कुनै नाम उल्लेख नगरे पनि कांग्रेसका सहमहामन्त्रीहरूलाई संकेत गर्दै भ्रष्टाचारसँग जोडेर गलत सन्देश प्रवाह गरेको कांग्रेस धनुषाको आरोप छ ।
कांग्रेस धनुषाले लिङ्देनको अभिव्यक्तिलाई अस्वीकार्य र गैरराजनीतिक ठहर गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘कांग्रेसका कुनै पनि सहमहामन्त्रीको नाम स्पष्ट नउल्लेखी भ्रम फैलाउने, अपुष्ट र निराधार आरोप लगाउने कार्यले पार्टी र सहमहामन्त्रीहरूको सम्मानमाथि गम्भीर चोट पुगेको छ ।’
ज्ञापनपत्रमा लिङ्देनको अभिव्यक्तिलाई हालै चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको हत्या, हिंसा र आगजनीबाट जनमानसमा उत्पन्न असन्तोषबाट ध्यान मोड्न गरिएको प्रयासका रूपमा चित्रण गरिएको छ ।
त्यस दिनको घटनामा पत्रकारसहित दुईजनाको हत्या भएको र सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी तथा तोडफोड भएको थियो । कांग्रेस धनुषाले लिङ्देनमाथि जनताको ध्यान अन्यत्र मोड्न र आफूलाई ‘चोखो’ देखाउन अभिव्यक्ति दिएको आरोप लगाएको छ ।
ज्ञापनपत्रमा कांग्रेसले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेको छ, ‘यदि लिङ्देनसँग यस्ता आरोप पुष्टि गर्ने स्पष्ट प्रमाण छ भने सार्वजनिक गरियोस्। प्रमाण दिन नसके लिङ्देनले संसदमा क्षमा याचना गर्नु पर्छ । नत्र कानुनी कारबाही अगाडि बढाइयोस् ।’
कांग्रेस धनुषाले बिना आधार प्रमाण जनप्रतिनिधि तथा पार्टीका उच्च तहका नेतालाई बदनाम गर्न खोज्नु लोकतान्त्रिक संस्कार र सदाचारविरुद्धको कार्य रहेको ठहर गरेको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार सहित वरिष्ठ नेताहरू, पदाधिकारीहरू, मन्त्री तथा मधेश प्रदेशसभा सांसद शेष नारायण यादव, प्रदेशसभा सांसद कुमारकान्त झा, प्रदेश सदस्य जिवनाथ चौधरी, नेता बजरंग यादव लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


