जनकपुरधाम, १२ वैशाख । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत पुलचौक क्षेत्रको जलाद नदी माटो खसालेर जबर्जस्ती पूरिएको आरोपपछि स्थानीयवासी आक्रोशित बनेका छन् । नदी पूरिएर वरपरका बस्ती डुबानको उच्च जोखिममा परेको भन्दै उनीहरूले विरोध जनाउँदै असन्तुष्टि जनाएका छन् ।

वडा नं. १६ र वडा नं. १ को सीमाक्षेत्रमा पर्ने जलाद नदीलाई ‘निजी सम्पत्ति’ को नाममा एक व्यक्तिले रातारात माटो खसालेर थुनिदिएका कारण नदीको प्राकृतिक बहाव अवरुद्ध भएको छ । यसका कारण आसपासका घरहरू जोखिममा परेको स्थानीयवासी सुरेश साहले बताए ।

उनका अनुसार, ‘पहिले खुला रुपमा बग्ने नदी अहिले बन्द भयो । पानीको निकास छैन । अबको केही समयमै ठूलो वर्षा भए हाम्रो घर डुबानमा पर्छ ।’ उनले थपे, ‘यदि त्यो साँच्चिकै निजी जग्गा हो भने पनि छलफल हुनुपथ्र्यो । तर, यहाँ त मुहानै बन्द गरियो ।’

स्थानीय भगवाना साहले नदी पूर्नको लागि गुण्डा परिचालन गरिएको आरोप समेत लगाएका छन् । उनले भने, ‘रातदिन डोजर लगाएर नदी पूरिँदै छ । हामीले वडा कार्यालयदेखि प्रशासनसम्म गुनासो गर्यौंं । तर, कसैले सुनुवाइ गरेन ।’

स्थानीयवासीहरू दिनहुँ काममा जान सक्दैनन्, सुत्न डर लाग्छ भनेर घरमै रात कटाइरहेका छन् । यस्तो भयावह अवस्था हुँदाहुँदै पनि जिल्ला प्रशासन कार्यालय वा जनकपुरधाम उपमहानगरपालिकाको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

यसमा संलग्न भनिएका व्यक्तिले भने आफू कानुनअनुसार नै कार्य गरिरहेको दाबी गरेका छन् । उनको भनाइमा, ‘नदी पहिले अर्कै ठाउँ भएर बग्थ्यो, पछिल्लो समय बग्ने धार परिवर्तन भएर मेरो जग्गा हुँदै बग्न थाल्यो । त्यसैले म आफ्नो सम्पत्ति प्रयोग गरिरहेछु ।’

उनले नक्सा र कागजातअनुसार नै निर्माण कार्य अगाडि बढाएको बताउँदै स्थानीयको आरोप अस्वीकार गरेका छन् । यता, स्थानीयवासीहरूले भने तत्काल नदी पूरिएको स्थान खुला गर्न, वैकल्पिक निकासको व्यवस्था मिलाउन र यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन् ।

जनप्रतिनिधि, वडा कार्यालय, उपमहानगर र प्रशासन सबैले सामूहिक रूपमा यथाशीघ्र जिम्मेवारी लिनुपर्ने स्थानीयको धारणा छ ।