गरुडाको चाँदी खोलामा बालकको शव फेला

रौतहट, १२ वैशाख । रौतहटको गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा एक बालकको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार शव पाँच दिनदेखि हराइरहेका वृन्दावन नगरपालिका–७ का १४ वर्षीय कृष्ण प्रसाद यादवको रहेको पुष्टि गरिएको छ ।
कृष्ण गत वैशाख ६ गते बेलुकी ४ बजे घरबाट निस्किएपछि वेपत्ता भएका थिए । उनी बिर्ता गाउँ जाने भन्दै आफ्नै मोटरसाइकलमा घरबाट निस्किएका थिए । तर त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए । खोजी गर्दा पनि तीन दिनसम्म केही पत्ता नलागेपछि पीडित परिवारले वैशाख ९ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत ज्येष्ठ नागरिक, महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा निवेदन दिएर खोजतलासको आग्रह गरेका थिए ।
आज बिहान करिब ९ बजेको समयमा स्थानीयले चाँदी खोलाको पानीमा बालकको शव घोप्टो अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो ।
डीएसपी कार्कीका अनुसार शवको प्रकृति र शरीरमा देखिएका चोटपटकको आधारमा हत्या गरिएको आशंका बलियो देखिएको छ ।
‘बालकको पेट र कन्चटमा गहिरो चोट छ । धारिलो हतियार प्रयोग भएको देखिन्छ । बालकको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ,’ डीएसपी कार्कीले बताए ।
प्रहरीले बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा पोष्टमार्टमका लागि पठाइसकेको छ । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता थप प्रस्ट हुने प्रहरीको भनाइ छ । यद्यपि, प्रारम्भिक रूपमा बालकको ज्यान लिइएको आशंका गरिए पनि हत्या कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान प्रारम्भिक चरणमै रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


