जनकपुरधाम, १२ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र नेपालमा विकास तथा सहयोगका लागि क्रियाशील स्विस नियोग (एसडिसी) का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।

जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा भएको भेटमा दुबै पक्षबीच मधेश प्रदेशमा सञ्चालित स्विस परियोजनाहरूको प्रभाव, चुनौती तथा भविष्यको साझेदारीका सम्भावनाहरूबारे विस्तृत छलफल भएको हो ।

मुख्यमन्त्री सिंहले नेपालमा संघीय शासन प्रणाली लागू भएको छोटो समय भएकाले संरचना र प्रणालीले पूर्णता नपाएको स्पष्ट पार्दै उपलब्ध साधन–स्रोतको प्रभावकारी उपयोगमा कठिनाइ भइरहेको बताए ।

उनले भने, ‘संघीय कानुनहरूको अभाव, निर्देशिका तथा कार्यविधि बनाउने झन्झटिलो प्रक्रिया, दक्ष जनशक्ति अभाव र समन्वयको कमजोरीले प्रदेश सरकारहरूलाई काम गर्न चुनौती बनिरहेको छ । तर, विकास साझेदार संस्थाबाट प्राप्त सहयोग बजेट निर्धारित समयमै उपयोग गर्न हामी प्रतिबद्ध छौं ।’

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सीपमूलक बनाउँदै उनीहरूलाई स्वदेशमै उद्यममा लगाउने योजनामा केन्द्रित रहेको जानकारी गराए । मधेश विश्वविद्यालयमार्फत सीपमूलक शिक्षा प्रदान गर्ने तयारी भइरहेको र वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको सीप, अनुभव र पुँजीलाई स्वदेशमै उपयोग गर्न प्रोत्साहन गरिने उनले बताए ।

‘विदेश गएकाले जति दुःख बेहोर्छन्, त्यति नै सम्भावना पनि बोकेर फर्कन्छन् । हामी तिनलाई अवसर दिन चाहन्छौं, उनीहरूको श्रम स्वदेशको समृद्धिमा लागोस् भन्ने चाहना हो,’ उनले स्पष्ट पारे ।

भेटका क्रममा स्विस नियोगका डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले सुरक्षित श्रम अप्रवासनको क्षेत्रमा एसडीसीले गरेका प्रयासबारे मुख्यमन्त्री सिंहलाई जानकारी गराए । उनले वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउने उद्देश्यले संचालित परियोजनाहरूको अनुभव पनि साझा गरे ।

उनका अनुसार स्वदेश फर्किएका युवाहरूको श्रम र सीपलाई देशमै उपयोग गर्ने दिशा प्रदेश सरकारसँग मिलेर अघि बढ्न सकिने देखिएको छ । साथै, चार वर्षे नयाँ योजनाको तर्जुमा गर्ने प्रक्रिया अघि बढिसकेको भन्दै स्वास्थ्य, शिक्षा, पूर्वाधार, मानव संसाधन विकास तथा जीविकोपार्जनका क्षेत्रमा आगामी दिनमा अझ सघन सहकार्यको आवश्यकता रहेको धारणा राखे ।

नियोगले प्रदेश सरकारसँगको सहकार्यलाई निरन्तरता दिँदै अझ विस्तृत बनाउने प्रतिबद्धता व्यक्त गरेको प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए । उनका अनुसार मुलुकका अन्य प्रदेशहरूको तुलनामा मधेशमा गरिबी, रोजगारीको कमी, शिक्षा तथा स्वास्थ्य पहुँचजस्ता चुनौतीहरूसँग जुध्न विशेष कार्यक्रमको खाँचो महसुस गरिएको र त्यहीअनुसार साझेदारी बढाउने विषयमा सहमति भएको छ ।