सिरहा, १२ वैशाख । सिरहामा युवाहरूको आक्रोशले स्वास्थ्य क्षेत्रको बेथिति विरुद्ध प्रतिरोधको रूप लिएको छ । प्रादेशिक अस्पताल सिरहामा चरम भ्रष्टाचार, अनियमितता, सेवामा लापरबाही तथा बिरामीमाथिको शोषणविरुद्ध आवाज उठाउँदै स्थानीय युवाहरूले अस्पताल सुधारका लागि आन्दोलन सुरु गरेका छन् ।

यसै क्रममा, युवाहरूको एक समूहले अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सुनिल कुशवाहाको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीहरूका अनुसार अस्पतालमा व्यापक सुधार गर्नुपर्ने भन्दै १७ बुँदे मागसहित तीन दिन अगाडि अल्टिमेटम दिइएको थियो । तर, मागप्रति कुनै चासो नदिएको भन्दै बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ ।

सिरहाली युवाहरूले अस्पतालमा व्यापक अनियमितता भएको गम्भीर आरोप लगाएका छन् । उनीहरूका अनुसार अस्पतालमा बिरामीले पाउनु पर्ने निःशुल्क औषधी र सेवा सुविधाबाट वञ्चित भइरहेका छन् । अस्पताल प्रशासन औषधी खरिदमा समेत कमिसनको चलखेलमा मुछिएको आरोप लागेको छ ।

‘अस्पतालमा भएका भ्रष्टाचार, शोषण, राज्यको रकम हिनामिना र नागरिकको आधारभूत स्वास्थ्य सेवामा भएको बेवास्ताविरुद्ध हामीले आवाज उठाएका हौं,’ सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले बताए ।

उनका अनुसार अस्पताल सुधारका लागि विगतदेखि नै पहल हुँदै आएको थियो । तर, सम्बन्धित निकायको बेवास्ता र अकर्मण्यताले अब जनताले प्रत्यक्ष प्रतिरोध गर्न थालेका छन् ।

युवाहरूको मागपत्रमा अस्पतालमा हुने सेवाको गुणस्तर सुधार, निःशुल्क औषधी वितरणको पारदर्शिता, कमिसनको चलन बन्द, बिरामीसँग हुने दुव्र्यवहारको अन्त्य, स्वास्थ्य उपकरणको दुरुपयोग रोक्नेलगायतका विषय समेटिएका छन् ।

साथै, अस्पतालमा कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्ने, इमरजेन्सी कक्षलाई सशक्त बनाउने र अस्पताल प्रशासनमा नागरिक निगरानी संयन्त्र स्थापना गर्नेसमेत माग गरिएको छ ।

मेसु तथा अध्यक्षको कार्यकक्ष तालाबन्दी गरिएपछि अस्पताल प्रशासनबाट औपचारिक प्रतिक्रिया आएको छैन । यद्यपि, आन्दोलनकारीहरू भने माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् । उनीहरू आन्दोलनलाई चरणबद्ध रूपमा विस्तार गर्ने चेतावनी दिइरहेका छन् ।