आन्दोलनरत शिक्षकहरू तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्चको आदेश

काठमाडौं, ११ वैशाख । आन्दोलनमा रहेका शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किएर पठनपाठन सुरु गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा शिक्षकहरूको जायज र संविधानसम्मत माग सम्बोधन गर्न सरकारलाई निर्देशन दिँदै नियमित पठनपाठनको वातावरण सुनिश्चित गर्न भनिएको छ ।
आदेशमा भनिएको छ, ‘शिक्षकका जायज तथा संविधानसम्मत माग तुरुन्त सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी आदेश प्राप्त भएको मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालय फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा समयमा प्रकाशित नहुने अवस्था सिर्जना हुन सक्ने भन्दै सर्वोच्चले यसप्रति चिन्ता व्यक्त गरेको छ । साथै, कक्षा १२ को परीक्षा समयमै सञ्चालन हुनुपर्नेमा जोड दिँदै आदेशमा भनिएको छ कि लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम टार्न परीक्षा सार्नु हुँदैन ।
शिक्षा मन्त्रालयलाई आदेश प्राप्त भएको मितिले चौथो दिनभित्र अदालतमा प्रगति विवरणसहितको प्रतिवेदन पेस गर्न पनि निर्देशन दिइएको छ । अदालतले आवश्यक र उपयुक्त प्रबन्ध तत्काल गर्न जरुरी रहेको भन्दै शैक्षिक गतिविधिमा थप अवरोध नगर्न भनेको छ ।
शिक्षकहरू पछिल्लो केही सातादेखि आफ्ना मागहरू राख्दै आन्दोलनमा छन् । उनीहरूले शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्तिको प्रक्रिया, आन्तरिक प्रतिस्पर्धा, वृत्तिविकासका अवसर लगायतका विषयमा असन्तुष्टि जनाउँदै आएका छन् । आन्दोलनका कारण देशभरका धेरैजसो विद्यालयमा पढाइ अवरुद्ध भएको छ भने विद्यार्थीहरू अन्योलमा परेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


