काठमाडौं, ११ वैशाख । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीबीचको सम्बन्धविच्छेद मुद्दा अन्ततः मिलापत्रमार्फत टुंगिएको छ ।

ललितपुर जिल्ला अदालतकी न्यायाधीश निर्मला योङ्याको इजलासले दुवै पक्षको सहमतिमा विवाह सम्बन्ध कायमै रहने गरी मिलापत्रको आदेश दिएको हो ।

डा. राउतले गत भदौमा अदालतमा निवेदन दिँदै पत्नीसँग वैवाहिक सम्बन्ध अन्त्य गरिदिन आग्रह गरेका थिए । तर, अदालतले सम्बन्धविच्छेदको औपचारिक निर्णय नगरी दुवैलाई अलग–अलग बस्न अनुमति दिएको छ । यससँगै, वैवाहिक नाता कानुनी रूपमा अन्त्य नहुने तर सहजीवन अलग–अलग रहने अवस्था सिर्जना भएको छ ।

मिलापत्रअनुसार डा. राउतले पत्नी सिन्धुलाई आजीवन मासिक ३३ हजार रूपैयाँ प्रदान गर्नेछन् । महँगीको दर अनुसार सो रकम हरेक वर्ष १० प्रतिशतले बढ्दै जाने व्यवस्था मिलापत्रमा समावेश छ । साथै, काठमाडौं उपत्यकामा पत्नीलाई दिइएको जग्गामा डा. राउतले घर निर्माण गरिदिनुपर्नेछ ।

राउतको भागमा पर्ने पैत्रिक सम्पत्ति पाँच भागमा बाँडफाँड गरिनेछ । त्यसमा एक हिस्सा उनकी पत्नीलाई दिइनेछ । मिलापत्रमा तीनजना सन्तानको जिम्मेवारी रेखदेख र शिक्षादीक्षा लगायत सबै पक्ष सीके राउतले लिनुपर्ने उल्लेख छ । यद्यपि, बच्चाहरूको नाममा पर्ने सम्पत्ति रेखदेखको जिम्मा समेत सीकेकै हुनेछ । भविष्यमा डा. राउतले आर्जन गर्ने सम्पत्तिमा पत्नीको कुनै हक नहुने जनाइएको छ । तर, छोराछोरी भने उक्त सम्पत्तिमा हकवाला रहनेछन् ।

दुवै पक्षले सार्वजनिकरूपमा एकअर्काको आलोचना नगर्ने सहमति समेत मिलापत्रमा समावेश गरिएको छ । विगतमा मधेश स्वराजको नारा दिएर चर्चामा आएका राउत पत्नीमाथि दुव्र्यवहार गरेको आरोपमा आलोचित भएका थिए । तर, हालको सहमतिपछि सार्वजनिक जीवनमा सौहार्द कायम गर्ने संकेत देखिएको छ ।

मुद्दा टुंगिएलगत्तै डा. राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्नी र सन्तानसहितको तस्बिर साझा गर्दै भावुक सन्देश समेत लेखेका छन् । यसले दुवै पक्षबीचको सम्बन्धमा नयाँ मोड आएको संकेत गर्छ ।

यस मिलापत्रमार्फत सम्बन्धविच्छेदको कानुनी प्रक्रिया रोकिए पनि पारिवारिक जीवनमा सहमतिको माध्यमबाट टुंगो लगाइएको छ ।