पर्सा, ११ वैशाख । एक सुनको सिक्री नपाएको निहुँमा विवाहको दिन नै वैवाहिक सम्बन्ध भत्काइदिने बेहुलासहित पाँच जनालाई पर्सा जिल्ला अदालतले दोषी ठहर गर्दै कैद, जरिवाना र दाइजो फिर्ता गर्ने फैसला सुनाएको छ ।

विवाहसंग सम्बन्धित संस्कारमा लोभको चरम प्रदर्शन देखाउँदै विवाह भाँड्ने कार्यको कानुनी प्रतिफल स्वरूप अदालतले कडा निर्णय लिएको हो ।

पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले दिएको फैसलाअनुसार बेहुला उमेश साहसहित पाँच जनालाई ६–६ महिनाको कैद, ५–५ हजार रुपैयाँ जरिवाना र दाइजोबापत लिएको ५ लाख ६५ हजार रुपैयाँ पीडित पक्षलाई फिर्ता गर्नुपर्ने आदेश दिएको हो ।

दोषी ठहर गरिएका व्यक्तिहरूमा बाराको कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय बेहुला उमेश साह, उमेशका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, उमेशका जेठा दाजु ४२ वर्षीय राकेशकुमार साह, उमेशका दाजु ४० वर्षीय मुकेशकुमार साह र बाराकै परवानीपुर–५ निवासी उमेशका ४५ वर्षीय भिनाजु रामएकबाल साह रहेका छन् ।

यी सबैलाई विवाहसम्बन्धी कसुर अन्तर्गत दोषी प्रमाणित गरिएको हो । वीरगन्ज महानगरपालिका–२४ रामगढवामा बेहुलीको घरमा विवाह समारोह चलिरहेको थियो । तर, बेहुला पक्षले दाइजोमा मागिएको सुनको सिक्री नपाएको भन्दै विवाह नै भाँडिदिए । विवाह तोडिएको मात्रै नभई आक्रोश र तनावका बीच दुवै पक्षबीच झगडा र कुटपिट समेत भएको थियो ।

घटनालगत्तै प्रहरीद्वारा बेहुलासहित आठ जनालाई पक्राउ गरिएको थियो । अनुसन्धानपछि पाँच जनाविरुद्ध मात्रै विवाहसम्बन्धी कसुर अन्तर्गत मुद्दा दायर गरिएको थियो ।

बेहुली पक्षले अदालतमा विवाहमा मोटरसाइकल, नगद, सुनचाँदी, ल्यापटप लगायत विभिन्न सामान दाइजोमा दिएको दाबी गरे पनि प्रमाणको आधारमा ३ लाख रुपैयाँ मोटरसाइकल किन्न, २ लाख नगद र ६५ हजार ल्यापटप किन्न दिएको रकम मात्र पुष्टि भएको अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जानकारी दिए ।

त्यसैले अदालतले बेहुला पक्षलाई ५ लाख ६५ हजार रुपैयाँ फिर्ता गर्न आदेश दिएको हो ।