जनकपुरधाममा इस्लामिक आतंकवादविरुद्ध हिन्दूवादी अगुवाहरूको विरोध प्रदर्शन

जनकपुरधाम, १० वैशाख । इस्लामिक आतंकवादविरुद्ध जनकपुरधाममा बुधबार हिन्दूवादी अगुवाहरूको नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ । हालै बंगलादेश र भारतको कश्मीर क्षेत्रमा हिन्दू समुदायमाथि भएको हिंसा र नरसंहारको विरोधमा जनक चौकमा आयोजित कार्यक्रममार्फत आक्रोश व्यक्त गरिएको हो ।
विरोध प्रदर्शनको क्रममा सहभागीहरूले हातमा ‘इस्लामिक आतंकवाद मुर्दाबाद’, ‘हिन्दू हिन्दू भाई भाई’, ‘हिन्दू धर्मको जय’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनको प्रमुख आकर्षणका रूपमा मृतकहरूको सम्झनामा जनक चौकमा सयौं दीप बालेर ‘हिन्दू’ शब्द बनाइएको दृश्य अत्यन्त भावुक र सन्देशमूलक देखिएको थियो । उनीहरुले बनर्जी र युनुसको पुत्लासमेत दहन गरे ।
कार्यक्रमको आयोजना जानकी सेना र विश्व हिन्दू परिषद नेपालसहित विभिन्न हिन्दू संगठनहरूले गरेका थिए । कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद धनुषाका जिल्ला संयोजक सन्तोष साहले भने, ‘बंगलादेश र भारतको कश्मीरजस्ता क्षेत्रमा जिहादी सोचले प्रेरित समूहहरूले हिन्दूहरूमाथि गरिरहेका अमानवीय अत्याचार अब सहन सकिँदैन । हामी धर्मको नाममा मचाइने आतंकको विरोधमा उभिएका छौं, न कि कुनै धर्म विशेषको विरोधमा ।’

साहका अनुसार, ‘हिन्दूहरूमाथि हिंसाका श्रृंखलाहरू बढ्दो अवस्थामा छन् । यस्ता घटनाहरूको विरोध नगरेसम्म र सशक्त प्रतिरोध नगरेसम्म विश्वका हिन्दूहरूको अस्तित्व संकटमा पर्न सक्छ । जनकपुरधामबाट उठेको आवाज केवल हाम्रो पीडा मात्र नभई यो विश्वका करोडौं हिन्दूहरूको आक्रोशको अभिव्यक्ति हो ।’
विरोध कार्यक्रममा सहभागी स्थानीय अगुवा रमेश ठाकुरले भने, ‘हाम्रो यो आन्दोलन शान्तिपूर्ण छ । तर, सन्देश कडा छ । धार्मिक सहिष्णुता र मानवता नाश पार्ने कुनै पनि तत्वविरुद्ध हामी सधैं सडकमा उत्रिन तयार छौं ।’
कार्यक्रममा महिलाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । सहभागी महिलाहरूले बालक, वृद्ध र निहत्था नागरिकहरूमाथि हुने जिहादी हिंसाविरुद्ध कडा निन्दा गरेका थिए । एक सहभागी महिलाले भनिन्, ‘हामी केवल मृतकहरूको सम्झनामा दीप जलाउन आएका होइनौं, हामी सबै हिन्दूहरूको जागरणका लागि यहाँ उभिएका छौं ।’

जनक चौकमा आयोजित विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्थानीय प्रशासनले सुरक्षाका व्यापक प्रबन्ध गरेको थियो ।
प्रदर्शनपछि सहभागीहरूले दीप बालेको स्थानमा मौनधारण गरी मृतकहरूको आत्माको शान्तिका लागि प्रार्थना गरे । आयोजकहरूले भविष्यमा पनि हिन्दू समाजमाथि अत्याचार भएमा राष्ट्रियस्तरको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


