लोकतन्त्रमा नेता र सरकार परिवर्तन जनताको अधिकार हो : विमलेन्द्र निधि

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका पूर्वउपसभापति एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने अधिकार जनताकै हातमा रहेको बताएका छन् ।
कांग्रेस सूचना, सञ्चार तथा प्रसार विभागद्वारा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ शीर्षकको बागमती प्रदेशस्तरीय कार्यक्रममा बोल्दै निधिले गणतन्त्र र लोकतान्त्रिक प्रणालीमाथि जनताको विश्वास कायम राख्न सैद्धान्तिक, वैचारिक र राजनीतिक बहसलाई थप सशक्त बनाउनु पर्ने आवश्यकता रहेको बताए ।
‘जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्र चिरायू रहन्छ भन्ने आश्वासन दिनुपर्छ’, उनले भने, ‘सरकार फेरिएला, नेता फेरिएलान्, तर यो जनताको अधिकार हो । २०८४ सालको चुनावले फेरि केही परिवर्तन ल्याउन सक्छ । लोकतन्त्र भनेकै जनतामै अधिकार सुनिश्चित हुनु हो ।’
निधिले ‘व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन’ भन्ने भ्रमपूर्ण प्रचारलाई चिर्न र जनताबीच सकारात्मक धारणा विकास गर्न कांग्रेस गम्भीर हुनुपर्नेमा जोड दिए । ‘सहभागितामूलक नीतिनिर्माण र समावेशी शासन प्रणालीतर्फ कांग्रेसले निकै योगदान गरिसकेको छ’, उनले बताए ।
पूर्वउपप्रधानमन्त्री निधिले नेपालमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अभ्यासको शुरुवात कांग्रेसकै आन्दोलनबाट सम्भव भएको उल्लेख गरे । ‘२००७ सालपछि मात्रै विधिसम्मत शासन प्रणाली सुरु भयो, त्यसअघि देशमा हुकुमी शासन थियो’, उनले भने, ‘आजको लोकतान्त्रिक राज्यको आधार कांग्रेसको निरन्तर संघर्षको परिणाम हो ।’
कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिनाले युवालाई पार्टीप्रति जिम्मेवार बनाउन वैचारिक अभियान चलाउनुपर्ने बताइन् । ‘सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको आधारमा मात्र धारणा बनाउनु उचित होइन’, उनले भनिन्, ‘विगतको योगदान मूल्याङ्कन गर्दै भविष्यप्रति आशा जगाउनुपर्छ ।’
पार्टीको सूचना, सञ्चार तथा प्रसार विभाग प्रमुख मीन विश्वकर्माले नेपाली कांग्रेसप्रति देशभरि विकसित भइरहेको नकारात्मक धारणा चिर्न तथ्यमा आधारित प्रचार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘हाम्रा युवाले २००७ सालपछि राष्ट्र निर्माणमा पुर्याएको योगदानबारे नयाँ पुस्ता जानकार हुनुपर्छ’, उनले भने ।
जिल्ला समन्वय तथा सम्पर्क विभाग प्रमुख नानु बाँस्कोटाले मिथ्या र भ्रमपूर्ण प्रचारको अन्त्य गर्न निरन्तर बहस र छलफल आवश्यक भएको धारणा राखिन् । ‘नेपाली कांग्रेसले यस्ता प्रचारविरुद्ध सत्यतथ्यसहित जनतामाझ जानुपर्छ’, उनले भनिन् ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले आरोप–प्रत्यारोपभन्दा माथि उठेर तथ्य र तथ्याङ्कमा आधारित राजनीति गर्नुपर्नेमा जोड दिए । ‘वर्तमान व्यवस्थाको सकरात्मक पक्ष जनतामाझ पुर्याएर सत्य उजागर गर्नु आवश्यक छ’, उनले भने ।
बागमती प्रदेश सभापति इन्द्रबाहादुर बानियाँले पार्टी स्थापनाकालमै युवाले नेतृत्व लिएको स्मरण गर्दै आजको युगमा पनि युवाको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए । ‘पार्टीप्रति जनताको भरोसा कायम राख्न युवालाई अग्रसर गराउनुपर्छ’, उनले बताए ।
ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले पार्टीबाट चुनिएर सांसद बनेकाहरूले पार्टीविरुद्ध बोलिरहेको भन्दै अनुशासन समितिलाई सक्रिय भएर काम गर्न आग्रह गरे । ‘जसले पार्टीको नीतिविपरीत अभिव्यक्ति दिन्छ, उसमाथि कारबाही गरिनुपर्छ’, उनले भने ।
कार्यक्रममा वरिष्ठ पत्रकार हरिबहादुर थापाले १०४ वर्षे राणा शासनदेखि ज्ञानेन्द्रकालीन निरंकुश शासनसम्मको अनुभवले लोकतान्त्रिक गणतन्त्र अपरिहार्य भएको बताए । डा. जगत नेपालले विपी कोइरालादेखि गणेशमान र सुवर्ण शमशेरको योगदान, मिडियाको भूमिका र कांग्रेसको आन्दोलन इतिहासबारे चर्चा गरे ।
वरिष्ठ अधिवक्ता गणेश केसीले देशमा विकसित हुँदै गएको नकारात्मक धारणा चिर्न जनताको माझमा सत्यतथ्य लिएर जान कांग्रेस गम्भीर हुनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


