जनकपुरधाम, ९ वैशाख । बंगलादेशमा हिन्दु समुदायमाथि भइरहेको दमन, अत्याचार र धार्मिक उत्पीडनविरुद्ध जनकपुरधाममा मंगलबार विरोध प्रदर्शन गरिएको छ ।

‘विश्व हिन्दू परिषद नेपाल’को आयोजनामा सम्पन्न उक्त प्रदर्शनमा इस्लामिक चरमपन्थी हिंसाको विरोध गर्दै सहभागीहरुले इस्लामिक आतंकवादको प्रतीकात्मक पुतला दहन गरेका थिए ।

जनकपुरधामको जनक चौकमा आयोजित कार्यक्रममा सहभागीहरूले हातमा विभिन्न नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए । ‘हिन्दू धर्मको जय’, ‘बंगलादेशी हिन्दू भाइबहिनीहरूलाई बचाऊ’, ‘इस्लामिक जिहादी हिन्दूहरूको ठूला दुश्मन हुन’, ‘हिन्दू मार्न पाइँदैन’ जस्ता सन्देशसहित प्रदर्शनकारीले आफ्नो आक्रोश व्यक्त गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूका अनुसार बंगलादेशमा हालका दिनहरूमा हिन्दु धर्मावलम्बीहरूलाई लक्षित गरेर गरिएको हिंसा, मन्दिर तोडफोड, हत्याका घटनाहरूले सम्पूर्ण दक्षिण एशियामा धार्मिक सहिष्णुताको गम्भीर प्रश्न उठाएको छ । उनीहरूले बंगलादेश सरकारको मौनतालाई ‘संरक्षणकारी भूमिकामा रहेको’ आरोप समेत लगाए ।

‘हामी नेपाली हिन्दुहरू पनि यस घटनाबाट अत्यन्तै दुःखी छौं । अन्तर्राष्ट्रिय समुदायले यस्ता घटनाविरुद्ध चाँडै बोल्नुपर्छ,’ आन्दोलनमा सहभागी विश्व हिन्दू परिषद्का संतोष साहले भने ।

आयोजकले यो विरोध कार्यक्रम कुनै पनि धर्मविरुद्ध नभई ‘हिन्दूहरूमाथि भएको अन्यायविरुद्ध’ रहेको दाबी गरेका छन् । ‘हामी शान्तिपूर्ण विरोध गर्छौं । कसैको भावना दुखाउने हाम्रो उद्देश्य होइन । तर, पीडित हिन्दुहरूको आवाज बन्नु पनि जरुरी छ,’ साहले भने ।