जनकपुरधामका पसलमा राजश्व कार्यालयको निगरानी : दर्ता नगरेका व्यवसायीलाई २४ घण्टे अल्टिमेटम

जनकपुरधाम, ९ वैशाख । जनकपुरधामको गंगासागर क्षेत्रका पसलहरुमा आन्तरिक राजश्व कार्यालय जनकपुरले बजार अनुगमन सुरु गरेको छ ।
कर छल्दै आएका व्यवसायीहरुलाई करको दायरामा ल्याउने उद्देश्यले मङ्गलबार बिहान राजश्व कार्यालयबाट खटिएको विशेष टोलीले गंगासागर डीलका पसलहरुमा अनुगमन गर्दै दर्ता नभएका पसलहरुलाई २४ घण्टाभित्र प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो ।
राजश्व कार्यालय जनकपुरका सहायक अधिकृत अजय रौनियारको नेतृत्वमा गएको टोलीले गंगासागर पोखरीको पश्चिमी किनारमा अवस्थित कस्टमेटिक, जुत्ता चप्पल र गारमेन्ट्स पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरु व्यवसायिक दर्ताविना संचालन भइरहेको पाइएको छ ।
‘हामीले अनुगमन गर्दा एउटा पनि पसल दर्तामा नभएको देख्यौं । उनीहरुलाई २४ घण्टाभित्र कर दर्ताको प्रक्रिया सुरु गर्न अल्टिमेटम दिएका छौं,’ रौनियारले भने, ‘भोलि बुधबार बिहान १० बजे सबै व्यवसायीलाई कर कार्यालयमा हाजिर भएर दर्ता प्रक्रिया सुरु गर्न भनिएको छ । तोकिएको समयसम्म प्रक्रिया सुरु नगरे पसलहरु सील गरिनेछन् ।’

स्थानीय व्यापारीहरुबीच खुलेआम कारोबार भइरहे पनि वर्षौँदेखि गंगासागर क्षेत्रका धेरै पसलहरुले कुनैपनि कानुनी दर्ता प्रक्रिया पुरा नगरी व्यापार गर्दै आएको देखिएको छ । यस्ता पसलहरुले मूल्य अभिवृद्धि कर (भीएटी), आयकर लगायतका कुनै पनि सरकारी कर तिर्ने गरेका छैनन् ।
स्रोतका अनुसार जनकपुरधाम उद्योग वाणिज्य संघले पनि यस्ता अवैध व्यापारमा मौन समर्थन दिएको छ । कर छललाई सहज बनाउने वातावरण तयार पार्न संघकै केही पदाधिकारी संलग्न भएको आरोप व्यवसायी र जनप्रतिनिधिहरुले नै लगाउँदै आएका छन् । तर, यसपटक राजश्व कार्यालयले अप्रत्याशित रूपमा कडा कदम चालेपछि व्यापारीहरुमा त्रास फैलिएको छ ।

यो अनुगमन अभियान जनकपुरमा व्यवसायिक पारदर्शिता कायम गर्न र कर प्रणालीलाई मजबुत बनाउने दिशामा पहिलो ठोस कदमको रूपमा हेरिएको स्थानीयको भनाइ छ । कार्यालयका अनुसार अब अन्य प्रमुख बजार क्षेत्रहरू—जनक चौक, मिलन चौक, रामानन्द चौक लगायत स्थानहरुमा समेत यस्तै निगरानी अभियान चलाइनेछ ।
राजश्व कार्यालयका अनुसार अनुगमन अब दैनिक हुनेछ । सबै व्यवसायीलाई करको दायरा भित्र ल्याउने रणनीतिमा कार्यालय अघि बढेको छ ।
व्यवसाय दर्ता र कर प्रणालीमा पारदर्शिता ल्याउने काममा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहनुपर्ने भए पनि जनकपुरधाम उपमहानगरपालिका यस विषयमा निष्क्रिय देखिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


