जनकपुरधाम, ९ वैशाख । बिहीबारदेखि देशभर सुरु हुन गइरहेको कक्षा १२ को परीक्षा धनुषा जिल्लामा पनि शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न तयारी थालिएको छ । परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका सबै सरकारी कार्यालयहरूलाई कर्मचारी विवरण पठाउन आग्रह गरेको छ ।

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै परीक्षा अवधिभर परीक्षा केन्द्रहरूमा अनिवार्य रूपमा खटिनुपर्ने कर्मचारीहरूको नामावली सम्बन्धित कार्यालयहरूले आजै पठाइसक्न निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘परीक्षामा कर्मचारी खटाउनु पर्ने भएकाले कार्यालयको नियमित सेवा प्रवाहमा अवरोध नहुने गरी कर्मचारीहरूको विवरण तपसिल बमोजिमको ढाँचामा तुरुन्त पठाउन अनुरोध गरिन्छ ।’

प्रशासनले परीक्षा सञ्चालन समितिको संयोजनमा सुरक्षाकर्मी, अनुगमन टोली, केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीहरूको उचित व्यवस्थापन गर्न यो कदम चालेको हो ।

परीक्षा अवधिमा नकल नियन्त्रण, शान्तिपूर्ण वातावरण कायम, केन्द्रको अनुशासन र परीक्षार्थीको हित सुनिश्चित गर्न कर्मचारीहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ।

‘कर्मचारीको सक्रिय सहयोगबिना परीक्षा व्यवस्थित ढंगले सम्पन्न गर्न कठिन हुन्छ,’ एक अधिकारीले भने, ‘त्यसैले समयमै विवरण प्राप्त गर्न प्रशासनले तत्कालिक निर्देशन दिएको हो ।’

सूचनासँगै प्रशासनले विवरण पठाउने फारामको ढाँचा पनि संलग्न गरेको छ । उक्त ढाँचामा कर्मचारीको नाम, पद, सम्पर्क नम्बर र परीक्षा केन्द्रमा खटिन सक्ने समय उल्लेख गर्नुपर्नेछ ।