उपाध्यक्ष मण्डलको पहलमा प्रमाण पुर्जा वितरण सुरु

जनकपुरधाम, ९ वैशाख । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा स्थानीय प्रशासनको एक ऐतिहासिक तथा बहुप्रतीक्षित कार्यान्वयन सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष रामबती देवी मण्डलको नेतृत्व र निरन्तर प्रयासपछि गाउँ ब्लक अन्तर्गतका नागरिकहरूले आफ्नै भूमिमा कानुनी अधिकार प्रमाणित गर्ने प्रमाण पुर्जा पाउने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो ।
पुर्जा वितरणको शुरुवात गाउँपालिकाको वडानम्बर १ बाट गरिएको छ । स्थानीय बासिन्दाहरूले लामो समयदेखि प्रतिक्षारत रहेको जग्गाको अधिकार सम्बन्धी कागजात प्राप्त गर्न थालेका छन् ।
गाउँपालिकाका अनुसार यस अभियान अन्तर्गत सम्बन्धित जग्गाधनीहरूले आफ्नो नागरिकताको प्रतिलिपि वा अन्य पहिचान खुल्ने कागजात साथ लिएर तोकिएको समय र स्थानमा पुग्नुपर्नेछ । सो प्रक्रियामा उपस्थित भएकाहरूलाई सोही स्थानमै जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरिनेछ ।
‘यो कार्यक्रम न्यायपूर्ण तथा समावेशी भू–स्वामित्व व्यवस्थापनतर्फको ऐतिहासिक पहल हो,’ उपाध्यक्ष मण्डलले भनिन्, ‘हामीले विगतमा गरिएका वाचा अब कार्यान्वयनमा ल्याएका छौं । यसले जनताको आत्मबल बढाउनेछ ।’
धेरै ग्रामीण क्षेत्रमा जग्गाको स्वामित्वमा अस्पष्टता र कानुनी झमेलाले समस्या उत्पन्न गरिरहेको समयमा धनौजी गाउँपालिकाको यो प्रयासले मात्र न त जमिनको कानुनी स्थायित्व प्रदान गर्छ । तर, ग्रामीण जनताको जीवनस्तर सुधारमा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ ।

स्थानीय अगुवाहरू, समाजसेवीहरू र नागरिकहरूले यस पहलको खुलेर प्रशंसा गरेका छन् । वडा नम्बर १ का एक वृद्ध जग्गाधनी रामकुमार यादव भन्छन्, ‘हामीले यो दिन देख्नेछौं भन्ने विश्वास थिएन । अब मेरो छोरा–नातिहरूको हक स्पष्ट भयो ।’
उपाध्यक्ष मण्डलको नेतृत्वमा सुरु गरिएको यो अभियानलाई स्थानीय सरकारको प्रभावकारी कार्यशैलीको प्रतिविम्बका रूपमा हेरिएको छ । विशेषतः महिलाको नेतृत्वमा स्थानीय तहमा यस्ता नीति कार्यान्वयन हुनु आफैंमा उल्लेखनीय विषय हो ।
धनौजी गाउँपालिकाले आगामी दिनमा बाँकी वडा र ब्लकहरूमा समेत चरणबद्ध रूपमा पुर्जा वितरणको प्रक्रिया अघि बढाउने बताएको छ । साथै, आवश्यक परामर्श, दस्तावेज सहयोग र कानुनी जानकारीका लागि विशेष सहयोग कक्ष पनि गठन गरिने योजना सार्वजनिक गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


