धनुषामा आमाबाटै तीन सन्तानको ज्यान लिने हृदयविदारक घटना, आमा भेन्टिलेटरमा

जनकपुरधाम, ९ वैशाख । धनुषा जिल्लाको शहीदनगर नगरपालिका–५ यदुकोहा गाउँ एक हृदयविदारक घटनाले स्तब्ध भएको छ । पारिवारिक कलहका कारण एक आमाले आफ्नै तीन सन्तानलाई विष खुवाएर ज्यान लिएको र त्यसपछि आफूले पनि आत्महत्या प्रयास गरेको आशंकामा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
मृत्यु हुनेमा स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साह छन् । उनीहरूको मृत्यु विष सेवनका कारण भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ६ः४० बजे पबिता साह आफ्ना तीन बालबालिकासहित घरभित्रै अचेत अवस्थामा फेला परेकी थिइन् । छिमेकीले तत्कालै सबैलाई उपचारका लागि जनकपुरतर्फ लगे पनि तीन सन्तानको ज्यान जोगाउन सकिएन । उनीहरूको अस्पतालमै मृत्यु भएको पुष्टि भयो ।
३० वर्षीया आमा पबिता भने अझै जीवन र मृत्युको दोसाँधमा छिन् । उनलाई जनकपुरस्थित रामजानकी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटना भएको करिब साढे दुई घण्टा पछिमात्र प्रहरीलाई जानकारी दिइएकाले अनुसन्धान ढिलो भएको प्रहरी निरीक्षक सञ्जिव यादवले जानकारी दिए ।
‘हामी राति करिब ९ बजे मात्र घटनास्थल पुग्न सकेका थियौं,’ उनले भने, ‘अहिले घटनाको प्रकृति हेर्दा पारिवारिक विवादका कारण यस्तो दुःखद परिणाम आएको देखिन्छ ।’
स्थानीय स्रोतका अनुसार साह दम्पतीबीच पछिल्लो समय पारिवारिक तनाव तीव्र थियो । पति सुशील साहको लामो समयदेखि घरबाहिर बसोबास र आर्थिक समस्याले गर्दा पविता मानसिक रूपमा निकै तनावमा थिइन् भन्ने प्रारम्भिक तथ्य सार्वजनिक भएको छ । यद्यपि, यो पुष्टिको लागि विस्तृत अनुसन्धान आवश्यक रहेको प्रहरीले बताएको छ ।
तीन नानीहरूको एकैसाथ मृत्यु भएपछि यदुकोहा गाउँ शोकमा डुबेको छ । ‘यस्तो कुरा त कहिल्यै सुनेको थिएन । ती नानीहरू त खेल्दै–हाँस्दै घुम्थे,’ एक छिमेकीले भनीन्, ‘पबिता दीदी पनि नराम्रो व्यवहार गरेजस्तो लाग्दैनथ्यो ।’
अहिलेसम्म प्राप्त प्रमाण, फेला परेको विषका केही अवशेष र छिमेकीको बयानका आधारमा घटनाको प्रकृति पारिवारिक तनावसहित आत्महत्या प्रयासतर्फ संकेत गरिरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


