‘राज्यको दमन’ भन्दै राप्रपाद्वारा संघीय सरकारलाई ज्ञापनपत्र

जनकपुरधाम, ९ वैशाख । काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमाथि राज्यले अत्यधिक बल प्रयोग गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले संघीय सरकारलाई तीव्र आपत्ति जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको ज्ञापनपत्रमार्फत राप्रपाले घटनालाई लोकतन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताविरुद्धको ’सरकारी दमन’को संज्ञा दिएको छ ।
राप्रपा धनुषाका अध्यक्ष रामचन्द्र यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रदर्शनका क्रममा सर्वसाधारणमाथि अन्धाधुन्ध बल प्रयोग गरिएको, निर्दोष नागरिकहरूको ज्यान गएको र प्रेस स्वतन्त्रता समेत कुण्ठित भएको आरोप लगाइएको छ ।
राप्रपाका अनुसार प्रदर्शनका क्रममा सहभागी सर्वसाधारणमाथि म्याद सकिएका अश्रुग्यास प्रयोग गरिएको मात्र नभई घरको छतबाट गोली प्रहारसमेत गरिएको थियो । ज्ञापनपत्रमा सविन महर्जनलाई लक्षित गरेर गोली हानी हत्या गरिएको र कार्यक्रमसँग कुनै सम्बन्ध नभएका रेविका खत्री र उनका दाजुमाथि समेत गोली प्रहार गरिएको तथ्य उल्लेख गरिएको छ ।
यस्तै, घरमा आगलागी हुँदा उद्धार नगरेको कारण पत्रकार सुरेश रजकको मृत्यु भएको आरोप पनि लगाइएको छ । ‘राज्य आफैंले प्रदर्शनलाई हिंसात्मक बनाउने प्रयास गर्याे,’ ज्ञापनमा भनिएको छ ।


ज्ञापनपत्रमा चैत १५ गते मात्रै सुरक्षाकर्मीले ७४६ राउन्ड अश्रुग्यास, १९२ ब्ल्याङ्क फायर, ५८ हवाई फायर, २३९ छर्रा र २ राउन्ड पेस्तोलबाट गोली चलाएको उल्लेख गरिएको छ । राप्रपाले यति ठूलो मात्रामा बल प्रयोग गर्नु स्वयं राज्यको नियोजित दमन रहेको आरोप लगाएको छ ।
राप्रपाले घटनाको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा स्वतन्त्र आयोग गठन गर्न माग गरेको छ । साथै गृहमन्त्रीको तत्काल राजीनामा, घटनामा संलग्न सुरक्षाकर्मी र प्रशासनिक अधिकारीको निलम्बन, मृतकलाई शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, झूठा मुद्दा खारेज, निर्दोषहरूको रिहाइ र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग उठाइएको छ ।
राप्रपाले यस घटनालाई लिएर अघि सारेको ६ बुँदे मागलाई सम्बोधन गर्न संघीय सरकारले तत्काल वार्ता टोली गठन गर्नुपर्ने माग पनि गरेको छ । ‘यो घटना जनताको स्वतन्त्रताको अपमान हो । हामी वार्ताबाट समाधान खोज्न चाहन्छौं । तर, राज्यले यदि बेवास्ता गर्यो भने आन्दोलनको विकल्प रहँदैन,’ अध्यक्ष यादवले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


