सिरहाको प्रादेशिक अस्पतालमा सेवा अव्यवस्था : जनप्रतिनिधि र युवाको १९ बुँदे अल्टिमेटम

सिरहा, ९ वैशाख । सिराहा सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा नियमित स्वास्थ्य सेवा अभाव, चिकित्सकको लापरवाही र औषधि वितरणमा देखिएको अनियमितताविरुद्ध स्थानीय जनप्रतिनिधि र युवाहरूको संयुक्त समूहले अस्पताल प्रशासनलाई तीन दिने अल्टिमेटमसहित १९ बुँदे मागपत्र बुझाएको छ ।
स्थानीयस्तरमा लामो समयदेखि उठ्दै आएको असन्तुष्टि एउटा संगठित र सशक्त आवाजमा परिणत भयो । अस्पताल परिसरमा भेला भएका सेवाग्राही, वडाध्यक्षहरू र युवाहरूको समूहले स्वास्थ्य सेवा प्रणालीमा व्यापक सुधारको माग गर्दै अस्पताल व्यवस्थापनमाथि प्रश्न उठाएका हुन् ।
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादव भन्छन्, ‘पटक–पटक अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरियो । अहिले बिरामीले सामान्य चेकजाँच, औषधि र विशेषज्ञ सल्लाह समेत पाउन सकिरहेका छैनन् ।’
उनका अनुसार अस्पतालमा नियमित रुपमा चिकित्सक नआउनु, औषधिको अभाव र म्याद सकिएका औषधिहरूको भण्डारणजस्ता गम्भीर लापरवाहीले स्थानीय जनस्वास्थ्य संकटतर्फ उन्मुख भएको छ ।
संयुक्त टोलीद्वारा बुझाइएको १९ बुँदे मागपत्रमा पछिल्ला तीन आर्थिक वर्षको औषधि खरिद तथा वितरण विवरण सार्वजनिक गर्नुपर्ने, म्याद सकिएका औषधिको सूची तयार गरी नष्ट गर्ने प्रक्रिया अपनाउनुपर्ने, उपकरण खरिदमा भएको खर्च तथा प्रक्रिया पारदर्शी बनाउने, अस्पतालका सम्पूर्ण कर्मचारीहरूको नामावली, तलबभत्ता र उपस्थिति सार्वजनिक गर्ने, सरसफाइ, खानेपानी, शौचालय र सेवा तालिकालाई व्यवस्थित र जनमैत्री बनाउने, आकस्मिक सेवामा चिकित्सकको २४ घण्टा उपस्थिति सुनिश्चित गर्नेलगायतका बुँदा समेटिएका छन् ।
मुख्यमन्त्री सतिशकुमार सिंह केही दिनअघि अस्पतालको अनुगमनमा आएका थिए । तर, स्थानीयवासीका अनुसार त्यो अनुगमन केवल औपचारिकतामै सीमित भयो । मागपत्र बुझाउने टोलीमा सहभागी रहेका युवा अभियन्ताहरूले तीन दिनभित्र ठोस सुधारको पहल नभए अस्पताल प्रशासनविरुद्ध व्यापक जनआन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । उनीहरूले अस्पतालको प्रवेशद्वारमा धर्ना, सेवाग्राही हस्ताक्षर संकलन र जनप्रतिनिधिको अगुवाइमा सडक मार्चजस्ता कार्यक्रम अगाडि बढाउने तयारीसमेत गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


