जनकपुरधामको पार्किङ व्यवस्था अस्तव्यस्त, ट्राफिक राजस्व संकलनमै सीमित?

–ज्योति झा
जनकपुरधाम, ८ वैशाख । जनकपुरधामको सडक सुरक्षालाई व्यवस्थित गर्न स्थानीय प्रशासनले नो पार्किङ क्षेत्र तोके पनि ती ठाउँहरूमा अनियन्त्रित सवारी पार्किङको समस्या बढ्दो छ ।
‘नो पार्किङ’ बोर्ड झुन्ड्याइएका ठाउँहरूमा खुलेआम मोटरसाइकल र चार पांग्रे सवारीसाधनहरू राखिने क्रम रोकिएको छैन । शिवचोकदेखि भानुचोक, जनक चोक, रामानन्द चोकजस्ता मुख्य चोकहरूमा दिनहुँजसो ट्राफिक नियमको धज्जी उडाइँदै आएको स्थानीयको गुनासो छ ।
आज मात्रै जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहसहित अन्य चार–पाँच वटा सरकारी नम्बर प्लेट भएका सवारी साधन नो पार्किङ क्षेत्रमा राखिएको पाइएपछि ट्राफिक प्रहरीले लक लगाएर जरिवाना असुल गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरिबहादुर वलीका अनुसार ट्राफिक प्रशासनले हालै पार्किङ उल्लंघन रोक्न शिवचोकदेखि भानुचोकसम्म कडाइका साथ नियम लागू गरेको छ ।
वली भन्छन्, ‘आजमात्रै नगर प्रमुखसहित पाँच वटा सरकारी गाडीलाई लक लगाएर कारवाही गरिएको छ । नियम सबैका लागि बराबर हो । चाहे त्यो सर्वसाधारण होस् वा सरकारी निकाय ।’
तर, स्थानीयले भने ट्राफिक प्रहरीको काम केवल राजस्व संकलनमा सीमित भएको आरोप लगाएका छन् । जनकपुरधाम–९ का स्थानीयवासी रमेश ठाकुर भन्छन्, ‘सवारी चलाउनेहरूलाई जरिवाना गरेर टारिन्छ तर व्यवस्थापनमा ध्यान दिइँदैन । यहाँ पार्किङ स्पेस छैन । जुन ठाउँ खाली देखिन्छ, त्यहीँ गाडी राखिन्छ । त्यसपछि पुलिस आएर लक लगाउँछ । यो समस्याको समाधान होइन ।’

त्यस्तै, जनकपुरधाम–१२ का सुमित कर्णले भने, ‘ट्राफिकको भूमिका त केवल आएर ‘लक गर्नु’ अनि ‘जरिवाना लिनु’मा सीमित छ । उपमहानगरपालिकाले व्यवस्थित पार्किङ जोन बनाउनुको सट्टा जनतालाई फसाउने नीति अपनाएको छ ।’
सडक सुरक्षा र सवारी व्यवस्थापनको सवालमा जनकपुरधाम अझै पनि अराजक अवस्थामै रहेको देखिन्छ । पार्किङको अभाव, प्रशासनको एकोहोरो कारवाहीमुखी दृष्टिकोण र नगरवासीको बढ्दो असन्तुष्टि । यी सबैले मिलेर यो समस्यालाई थप जटिल बनाएका छन् ।
ट्राफिक प्रमुख वलीले भने निकट भविष्यमा पार्किङ व्यवस्थापनका लागि उपमहानगरपालिका र जिल्ला प्रशासनसँग समन्वय गरी दीर्घकालीन समाधान खोजिने बताए । तर, त्यसका लागि नीतिगत प्रतिबद्धता र तल्लो तहसम्मको सहकार्य आवश्यक हुनेछ ।
जनकपुरधामजस्तो धार्मिक, पर्यटकीय र व्यापारिक केन्द्रमा पार्किङ व्यवस्थापन प्रभावकारी नबनाइएसम्म जनजीवन अस्तव्यस्त रहनुका साथै सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढिरहने स्थानीयको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


