जनकपुरधाम, ८ वैशाख । मधेश प्रदेश सरकार अन्तर्गत सञ्चार क्षेत्र नियमन, अनुगमन तथा विकासका दुई महत्वपूर्ण निकाय मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका नव नियुक्त अध्यक्षहरूले आज औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मिडिया काउन्सिलको अध्यक्षमा पत्रकार कमल उपाध्याय र आमसञ्चार प्राधिकरणको अध्यक्षमा पत्रकार जीतेन्द्र खड्गलाई नियुक्त गरिएको हो । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा आयोजित एक विशेष समारोहबीच प्रदेशका गृहमन्त्री राजकुमार लेखीले दुवै अध्यक्षहरूलाई शपथ ग्रहण गराए ।

बाराका उपाध्याय र सप्तरीका खड्ग लामो समयदेखि पत्रकारिता र सञ्चार क्षेत्रमा क्रियाशील व्यक्तिका रूपमा परिचित छन् । उनीहरूको अनुभव, क्षमता र स्थानीय सन्दर्भप्रति बुझाइलाई ध्यानमा राख्दै प्रदेश सरकारले उनीहरूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो ।

शपथ कार्यक्रमका क्रममा मुख्यमन्त्री सतीश कुमार सिंहले नवनियुक्त अध्यक्षद्वयलाई बधाई तथा शुभकामना दिंदै सञ्चार क्षेत्रको मर्यादा, स्वायत्तता र उत्तरदायित्व सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए ।

‘सञ्चार माध्यम राज्य र जनताको बीचको पुल हो । त्यसैले निष्पक्षता, नैतिकता र पारदर्शिताका आधारमा सञ्चार क्षेत्रको विकास र सुधार गर्नु अत्यन्त आवश्यक छ,’ मुख्यमन्त्री सिंहले भने ।

उनले पछिल्लो समय सञ्चार माध्यममा देखिएका विकृति, पूर्वाग्रह र अव्यवस्थाको अन्त्य गर्दै सशक्त, जिम्मेवार र सकारात्मक पत्रकारिताको प्रवद्र्धन गर्न आग्रह गरे । साथै, विगतमा भएका राम्रो अभ्यासहरूको निरन्तरतासँगै सुधारात्मक पहल गर्न र प्रदेशस्तरीय सञ्चार नीति निर्माणमा योगदान दिन उनले अपेक्षा व्यक्त गरे ।

गृहमन्त्री लेखीले भने सञ्चार क्षेत्रको संस्थागत विकास, मापदण्डको निर्माण, सञ्चार माध्यमहरूको दर्ता, निगरानी र व्यवसायिक आचारसंहिताको पालना गराउन दुवै निकायको भूमिकालाई अत्यन्तै महत्वपूर्ण ठहर गरे ।

दुवै अध्यक्षले आफूहरूलाई दिइएको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै सञ्चार क्षेत्रको मर्यादा कायम राख्ने, पत्रकारको हक–हित सुनिश्चित गर्ने तथा प्रदेशस्तरीय सञ्चार संरचना मजबुत बनाउने कार्यलाई प्राथमिकतामा राख्ने बताएका छन् ।