शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं, ८ वैशाख । निरन्तर चर्किंदै गएको शिक्षक आन्दोलनको दबाबबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर औपचारिक राजीनामा पेश गरेकी छन् । बालुवाटार स्रोतका अनुसार उनले प्रधानमन्त्रीसमक्ष आफ्नो जिम्मेवारीबाट मुक्त गरिदिन अनुरोध गर्दै राजीनामा पत्र बुझाएकी हुन् ।
भट्टराईको राजीनामा आज बेलुकी बस्न लागेको मन्त्रिपरिषद् बैठकमा स्वीकृत हुने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ । हाल देशभरि जारी शिक्षक आन्दोलनले सरकारले ल्याउन खोजेको शिक्षा क्षेत्रसम्बन्धी नयाँ नीतिगत प्रस्तावहरू र नियुक्ति सम्बन्धी विषयहरूमा गम्भीर असन्तुष्टि जनाउँदै आएको छ । देशका अधिकांश जिल्ला सदरमुकामदेखि राजधानीसम्मका शिक्षकहरू निरन्तर सडकमा छन् । विद्यालयहरू प्रभावित भएका छन् ।
यसैबीच, शिक्षामन्त्री भट्टराई बारम्बार शिक्षक महासंघका प्रतिनिधिहरूसँग संवादमा जुटे पनि कुनै ठोस सहमति निकाल्न असफल भएकी थिइन् । सरकारभित्रै उनको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको र प्रधानमन्त्रीसमक्ष चर्किंदो आन्दोलनको प्रत्यक्ष राजनीतिक असरबारे पनि चिन्ता व्यक्त गरिएको थियो ।
एक समय नेकपा एमालेभित्र उदाउँदो नेतृत्वका रूपमा चिनिएकी भट्टराई शिक्षामन्त्रीको रूपमा विवादास्पद निर्णय र कमजोर संवाद क्षमताका कारण आलोचित हुँदै आएकी थिइन् । शिक्षक आन्दोलनको सरकारी व्यवस्थापनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप नेकपाभित्रैबाट उठ्न थालेपछि उनी घेराबन्दीमा परेकी थिइन् ।
शिक्षक महासंघका नेताहरूले सरकारको अनिच्छा र ढुलमुल व्यवहारले आन्दोलन चर्किएको जनाउँदै आएको बेला शिक्षामन्त्रीले आन्दोलनप्रति स्पष्ट नीति नलिएको आरोप लाग्दै आएको थियो ।
शिक्षामन्त्रीको राजीनामालाई सत्तारूढ गठबन्धनभित्रको आन्तरिक कमजोरी र जनताको दबाबप्रति सरकारको प्रतिक्रियाको रूपमा समेत विश्लेषण गर्न थालिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


