जनकपुरधाम, ८ वैशाख । अत्याधुनिक स्वास्थ्य सेवा पहुँचबाट अझै पनि पछि परेको मधेशका नागरिकलाई लक्षित गर्दै जनकपुरधाममा ‘सीताराम अन्तर्राष्ट्रिय एम्स इन्स्टिच्युट अफ हेल्थ साइन्सेज’ स्थापना गर्न ‘महासंकल्प अभियान’ सुरु गरिएको छ ।

यो अभियान रामजानकी बहुउद्देश्यीय रंगशालाका परिकल्पनाकार तथा सामाजिक अभियन्ता दिनेश पूर्वेको अगुवाइमा अघि बढाइएको हो । अभियान अन्तर्गत देशव्यापी रूपमा ‘मेची–महाकाली हस्ताक्षर शुभारम्भ अभियान’ सञ्चालन गर्दै जनताबाट समर्थन संकलन गरिनेछ ।

यस अभियानको उद्देश्य जनकपुरधामस्थित सीताराम विवाहस्थललाई आधार बनाएर अन्तर्राष्ट्रिय स्तरको मेडिकल इन्स्टिच्युट स्थापना गर्ने हो । यसले नेपालका मात्र नभई उत्तर भारतका समेत लाखौं नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ ।

अभियानकर्ताहरूले मधेशका अधिकांश जिल्लाहरूमा अझैसम्म उपयुक्त स्वास्थ्य सेवा, विशेषज्ञ उपचार केन्द्र वा मेडिकल अनुसन्धान संस्था नहुँदा हजारौं नागरिकले आर्थिक, सामाजिक र मानवीय क्षति भोग्नुपरेको तीतो यथार्थ प्रस्तुत गरेका छन् ।

त्यसैले, अबको आवश्यकता भनेको मधेशमै विश्वस्तरीय उपचार र स्वास्थ्य विज्ञान शिक्षाको पहुँच बनाउनु हो भन्ने निष्कर्षका साथ अभियान अघि बढाइएको छ । अभियान अन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्ताक्षर संकलनमार्फत औपचारिक अपिल गरिनेछ ।

अभियानका अगुवा दिनेश पूर्वेले भने, ‘हामी केवल ईंटा र ढुंगाको अस्पताल नभई जनताको आस्थाको केन्द्र बन्ने यस्तो संस्थान निर्माण गर्न चाहन्छौं, जहाँ सेवा, अनुसन्धान र आत्मीयता तीनै कुरा सँगसँगै प्रवाहित होस् ।’

अभियानको लागि आवश्यक जग्गा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं ३, झोझी कटैया क्षेत्रमा सुरक्षित गरिएको छ । अभियान समितिका अनुसार हालसम्म ६ विघा ६ कठ्ठा १३ धुर, १ कठ्ठा १० धुर, ३ कठ्ठा १५ धुर र १ विघा १० कठ्ठा ४ धुर जग्गा संस्थान निर्माणको लागि सुरक्षित गरिएको छ ।

धनौजी गाउँपालिकाका वडा अध्यक्ष राम नारायण यादवले यस परियोजनाको जग्गा नापतौल तथा नक्सांकन प्रक्रियाका लागि जनकपुरधामको नापी शाखासँग पत्राचार गरिसकेको जानकारी दिएका छन् ।

अभियानका संरचनाकारहरूको भनाइ अनुसार यस मेडिकल इन्स्टिच्युटको स्थापनाले धार्मिक नगरी जनकपुरधामलाई चिकित्सा गन्तव्यका रूपमा समेत स्थापित गर्नेछ । यसले भारत–नेपालबीचको धार्मिक, सामाजिक र कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा लिइएको छ ।

त्यस्तै, अभियानले स्थानीय रोजगारी सृजना, मेडिकल पर्यटन प्रवद्र्धन, शिक्षित स्वास्थ्य जनशक्ति उत्पादन तथा सार्वजनिक स्वास्थ्य अनुसन्धानको नयाँ ढोका खोल्ने विश्वास लिएको छ ।

‘महासंकल्प अभियान’ले स्थानीय तहदेखि अन्तर्राष्ट्रिय तहसम्मको सहयोग र समर्पणबिना यस्तो महत्वाकांक्षी सपना पूरा नहुने स्पष्ट गर्दै सबै पक्षसँग सहयोगको अपिल गरेको छ ।

पूर्वेले भने, ‘हामी यो आन्दोलनलाई केवल एउटा इन्स्टिच्युट निर्माणको कुरा मान्दैनौं । यो मधेशको सम्मान र स्वास्थ्य–अधिकारको आन्दोलन हो । देश–विदेशमा रहेका सम्पूर्ण मधेशप्रेमी, स्वास्थ्यकर्मी, राजनीतिक नेतृत्व र भारत सरकारसँग हामी साथ र समर्थनको अपेक्षा गर्छौं ।’