कोषाध्यक्ष यादवको गिरफ्तारी पूर्वनियोजित षड्यन्त्र हो : पूर्वउपाध्यक्ष दीपक साह

जनकपुरधाम, ८ वैशाख । जनमत पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई. दीपक कुमार साहले पार्टीका कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवको हालैको गिरफ्तारीलाई एक गम्भीर राजनीतिक षड्यन्त्रको हिस्सा भएको दाबी गरेका छन् ।
साहले सार्वजनिक गरेको लामो विज्ञप्तिमा उनले पार्टीभित्रको वित्तीय अपारदर्शिता, शक्ति दुरुपयोग, गुटबन्दी र आन्तरिक लोकतन्त्रको अभावप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले यादवप्रति भएको व्यवहारलाई ईमान्दार कार्यकर्ताविरुद्धको रणनीतिक हमलाको रूपमा चित्रण गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
साहका अनुसार सुरेन्द्र यादव मधेश आन्दोलनदेखि स्वतन्त्र मधेश गठबन्धनसम्म र पछिल्लो समय जनमत पार्टी निर्माणसम्म अत्यन्तै समर्पित भई काम गर्ने नेताका रूपमा परिचित छन् ।
उनले भने, ‘यादवको इमान्दारिता र निष्ठामाथि आज प्रश्न उठाइँदैछ । तर, उनले कति त्याग र समर्पण गरेका छन् भन्ने कुरालाई इतिहासले प्रमाणित गरिसकेको छ । गिरफ्तारी त्यही समर्पणको पुरस्कार होइन ।’
विज्ञप्तिमा उल्लेख गरिएको एक महत्वपूर्ण पक्ष भनेको जनकपुरधाममा निर्माण गरिएको मधेश आश्रम हो । साहका अनुसार, ‘पार्टी अध्यक्ष डा. सिके राउतको सचिवालयले कुनै सहयोग नगरेपछि सुरेन्द्र यादव र बसन्त कुशवाहाले आफ्नो व्यक्तिगत खर्चमा उक्त भवन बनाएका थिए । मलाई पनि प्रत्यक्षरूपमा संलग्न गराइएको थियो ।’

यस घटनाबाट पार्टी नेतृत्वले नै इमान्दार कार्यकर्ताहरूको योगदानप्रति उपेक्षा गरेको आरोप साहले लगाएका छन् । सबैभन्दा गम्भीर आरोप भनेको पार्टीको समानुपातिक सूचीमा नाम समावेश गराउन लाखौं रुपैयाँ मागिएको विषय हो । साहले भनेका छन्, ‘५० लाख रुपैयाँ मागेर सूचीमा नाम हाल्ने चलन अपारदर्शी मात्र होइन, पार्टीको नैतिकता र सिद्धान्तविपरीत हो ।’
यस्तै, कोषाध्यक्ष यादवको नाममा गाडी नकिनी अन्य व्यक्तिको नाममा खरिद, बैंक खाता नखोली आर्थिक कारोबार गरिनु तथा पार्टीको नाममा बनाइएको भवनको स्वामित्वमा अनियमितता देखिनु गम्भीर प्रश्न हुन् । यसको उत्तर आवश्यक रहेको साहको दाबी छ ।
साहले डा. राउतको हठ र नेतृत्वको गैरजिम्मेवार शैलीका कारण पार्टीको स्थायी कार्यालय आजसम्म पनि निर्माण हुन नसकेको उल्लेख गरेका छन् । उनले भने, ‘कोटेश्वरस्थित एक होटलबाट पार्टी सञ्चालन भइरहेको छ । यो दीर्घकालीन राजनीतिक संस्थाका लागि उपयुक्त होइन ।’
पार्टीका लागि संकलन गरिएको धेरैजसो आर्थिक सहयोग व्यक्तिगत प्रयोजनमा खर्च भएको साहको आरोप छ । उनले यसलाई गैरकानुनी र नैतिकताविहीन कार्य भनेका छन् । उक्त सम्पूर्ण रकमको छानबिन हुनुपर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


