जनकपुरधाम, ८ वैशाख । नगरक्षेत्रभित्रका सम्पूर्ण बोर्डिङ विद्यालयहरूमा एकरूपता सहितको पाठ्यपुस्तक सूची (बुक लिस्ट) लागू गर्ने निर्णय जनकपुरधाम उपमहानगरपालिकाले गरे पनि त्यो निर्णय कार्यान्वयन नहुँदा पुस्तक व्यवसायीहरू आन्दोलित भएका छन् ।

नेपाल पुस्तक व्यवसायी संघ धनुषाले सोमबार जनकचोकदेखि भानुचोकसम्म विरोध प्रदर्शन गर्दै पालिकाको ढुलमुले रवैयाको कडा विरोध गरेको हो । संघका अनुसार नगरपालिकाको निर्णयमा ढिलाइले व्यवसायीहरूको करोडौं लगानी जोखिममा परेको छ ।

पुस्तक व्यवसायी संघका धनुषा सह–सचिव वजरंग यादवले भने, ‘नगर सरकारले सार्वजनिकरूपमा बुक लिस्टको एकरूपता अनिवार्य गर्ने निर्णय गर्यो । त्यसका आधारमा हामी पुस्तक विक्रेताहरूले लाखौंको लगानीमा किताब पसलमा ल्यायौं । तर, अहिले कार्यान्वयन नगर्ने देखिँदा हाम्रो लगानी डुब्ने अवस्थामा पुगेको छ ।’

पालिकाले स्पष्ट कार्यान्वयन समयसीमा र अनुगमनको मापदण्ड नतोक्दा अभिभावक र विद्यालयहरू अन्योलमा परेका छन् । धेरै विद्यालयहरू आफ्नै अलग लिस्ट जारी गरिरहेका छन् । यसले पालिकाको निर्णयलाई कमजोर बनाइरहेको उनीहरूको आरोप छ ।

पालिकाको निर्णय अनुसार नगरका सबै निजी विद्यालयहरूमा एकै प्रकारको पुस्तक सूची लागू गर्दा विद्यार्थीबीच शैक्षिक समानता, अभिभावकमा आर्थिक भार न्यूनीकरण र अनावश्यक र महँगा पुस्तक बिक्रीमा नियन्त्रण आउने विश्वास गरिएको थियो । तर, संघका अनुसार पालिकाले त्यो निर्णयलाई कागजी प्रतिबद्धतामै सीमित बनाएको आरोप छ ।

संघले अपिल गरेको छ, ‘हामी सम्पूर्ण अभिभावकहरूलाई आग्रह गर्र्छौं, आफ्नो छोराछोरीको हितका लागि बुक लिस्टमा एकरूपता सुनिश्चित गर्न विद्यालयमा दबाब दिनुहोस् ।’

अहिले पनि केही निजी विद्यालयहरूले पुस्तक पसलसँग मिलेमतो गरी आफूखुसी किताबको लिस्ट तयार गरी अभिभावकमाथि महँगा पुस्तक किन्ने दबाब दिइरहेको संघको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिकाले ‘बुक लिस्ट’ सम्बन्धी निर्णय चाँडै लागू गर्ने भनिए पनि कुनै ठोस कार्ययोजना सार्वजनिक नगरेको भन्दै व्यवसायीहरूले निराशा व्यक्त गरेका छन् ।

संघका अनुसार, ‘यदि पालिकाले अब पनि स्पष्ट र प्रभावकारी कार्यान्वयन प्रक्रिया अघि नबढाए हामी बाध्य भएर चरणबद्ध आन्दोलनमा जान्छौं ।’