जनकपुरधाम, ८ वैशाख । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्र अनुमति बिना संचालनमा रहेका शैक्षिक संस्थाहरूको विरुद्ध निगरानी प्रक्रिया तीव्र बनाएको छ । पालिकाले प्रचलित कानुनको हवाला दिँदै सबै शैक्षिक संस्थालाई अनुमति लिने र नियमनको दायरामा आउन चेतावनी दिएको छ ।

पालिकाको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा भनिएको छ, ‘प्रचलित कानुन बमोजिम अनुमति प्राप्त नगरी कसैले पनि शैक्षिक संस्था संचालन गर्न पाउँदैन । तर, पछिल्लो समय नगर क्षेत्रभित्र अनुमति बिना शैक्षिक संस्था संचालनमा रहेको गम्भीर जानकारी प्राप्त भएको छ ।’

शैक्षिक गुणस्तर, सुरक्षा र भविष्यको सवालमा पालिकाले अभिभावकको जिम्मेवारीसमेत स्मरण गराउँदै बिना अनुमति सञ्चालन भइरहेका विद्यालयमा आफ्ना बालबालिकाहरू भर्ना नगर्न आग्रह गरेको छ ।

कर्णद्वारा जारी सूचनामा भनिएको छ, ‘यस्ता विद्यालय कानुनविपरीत सञ्चालन भइरहेका छन् । पालिकाले यिनलाई नियमनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । यदि समयमै कानुनी प्रक्रिया पूरा नगरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।’

शिक्षा शाखाका अनुसार केही विद्यालयहरू शैक्षिक गुठी, धार्मिक विद्यालय, निजी गुठी तथा सामुदायिक सिकाई केन्द्रको नाममा अनुमति नलिई सञ्चालनमा छन् । त्यस्ता विद्यालयमा शिक्षकको योग्यताको अभाव, पाठ्यक्रमको अव्यवस्था, बालबालिकाको सुरक्षा तथा भौतिक संरचना सम्बन्धी मापदण्डको नपुगेको अवस्था देखिएको पालिकाले जनाएको छ ।

पालिका स्रोतका अनुसार अनियमित शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी भविष्यमा सरकारी मान्यता प्राप्त प्रमाणपत्र नपाउने, सरकारी छात्रवृत्ति तथा सेवाबाट वञ्चित हुने खतरा रहन्छ । पालिकाले अभिभावकहरूलाई कडाइका साथ आग्रह गरेको छ, ‘बिना अनुमति सञ्चालन भइरहेका विद्यालयमा भर्ना नगर्नुहोस् । यस्ता विद्यालयले तपाईँको सन्तानको भविष्य धरापमा पार्न सक्छ ।’

धेरैजसो विद्यालयहरू आफूखुसी शुल्क लिने, शिक्षक नियुक्तिमा पारदर्शिता नराख्ने र सरकारी निर्देशिकाको उल्लंघन गर्ने गरेको गुनासो पालिकामा परेको शिक्षा शाखाले जनाएको छ । शाखा प्रमुख कर्णका अनुसार, ‘हामी कानुन अनुसार विद्यालय दर्ता, निरीक्षण र मूल्यांकन प्रक्रियामा सक्रिय छौं । कसैले पनि कानुनको उल्लंघन गर्दै सञ्चालन गरे त्यस्ता संस्थालाई बन्द गर्न सक्ने प्रावधान हामीसँग छ ।’