जनकपुरधाम, ७ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूका लागि पुस्तकहरूको सूची (बुक लिस्ट) सार्वजनिक गरेपछि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाले उक्त प्रक्रिया सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले शैक्षिक सत्र २०८२ का लागि निजी विद्यालयहरूमा प्रयोग हुने पाठ्यपुस्तकहरूको सूची सार्वजनिक गर्दै शैक्षिक पारदर्शिता, अभिभावकको हित र व्यवसायिक नियमन सुनिश्चित गर्ने उद्देश्य राखेको थियो ।

यस निर्णयपछि महासंघले उपमहानगरपालिकासँग सहकार्य गर्दै पुस्तक आपूर्तिमा सहजता, मूल्य पारदर्शिता र अभिभावकको समस्यामुक्त पहुँच सुनिश्चित गर्न प्रतिबद्धता जनाएको हो ।

महासंघ धनुषाका एक पदाधिकारीका अनुसार, ‘शिक्षा क्षेत्रमा भइरहेको अनियमितता र मनोमानी बिक्रीलाई नियन्त्रण गर्न उपमहानगरपालिकाको यो प्रयास सराहनीय छ । हामी पूर्ण सहयोग गर्न तयार छौं ।’

जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखाले लामो समयदेखि निजी विद्यालयहरूमा पुस्तक तथा स्टेशनरीको मनोमानी बिक्री, एकाधिकार स्थापना र अभिभावकमाथि पर्ने आर्थिक भारको गुनासोहरूलाई सम्बोधन गर्न पुस्तक सूचीको सार्वजनिकरणलाई रणनीतिक कदमका रूपमा लिएको हो ।

नगर प्रमुख मनोज साहका अनुसार, ‘अब विद्यालयले कुनै निश्चित व्यवसायीसँग मिलेर महँगो मूल्यमा पुस्तक बिक्री गर्न सक्ने अवस्था हटेको छ । सूचीअनुसार आम अभिभावकले उचित मूल्यमा पुस्तक खरिद गर्न सक्नेछन् ।’

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाले पुस्तकहरू समयमै उपलब्ध गराउने, मूल्यमा एकरूपता ल्याउने र बजार अनुगमनमा सहयोग गर्ने योजना बनाएको जनाएको छ । महासंघले आगामी दिनमा अभिभावक, विद्यालय र उपमहानगरपालिकाबीच त्रिपक्षीय संवाद र समन्वय गर्नुपर्ने आवश्यकतासमेत औंल्याएको छ ।

उपमहानगरपालिकाको पहल र महासंघको सहयोग घोषणालाई जनकपुरधामका अभिभावक र शिक्षा क्षेत्रमा संलग्न नागरिक समाजले सकारात्मक रूपमा लिएको छ । उनीहरूका अनुसार यस्तो कदमले निजी शिक्षालाई उदारीकरणको नाममा भएको व्यवसायीकरणबाट केही हदसम्म नियन्त्रण गर्न सक्छ ।

एक अभिभावकले भने, ‘पहिले किताब पाउन धेरै दौडधूप गर्नुपथ्र्यो, कहिले मूल्यमा झन्झट, कहिले अभाव । अब कम्तीमा सूचीअनुसार समान मूल्यमा पुस्तक पाइन्छ भन्ने आशा गरेका छौं ।’