तराई–मधेश महिला संघको केन्द्रिय तदर्थ समिति घोषणा, बिन्दु ठाकुर अध्यक्ष चयन

जनकपुरधाम, ७ वैशाख । तराई–मधेश लोकतान्त्रिक पार्टीको महिला भ्रातृ संगठन ‘तराई–मधेश महिला संघ’ को केन्द्रिय तदर्थ समिति औपचारिक रूपमा घोषणा गरिएको छ । पार्टीले संगठन विस्तार र महिलाको नेतृत्व क्षमतालाई सशक्त बनाउन भन्दै नयाँ संरचना सार्वजनिक गरेको हो ।
पार्टी अध्यक्ष वृषेश चन्द्र लालको जानकारी अनुसार संघको केन्द्रिय तदर्थ समितिको अध्यक्षमा बिन्दु ठाकुर चयन भएकी छन् । सचिवको जिम्मेवारी सुनिता वर्मालाई दिइएको छ भने कोषाध्यक्षमा राधिका देवीलाई मनोनयन गरिएको छ ।
पार्टीले यो समितिलाई महिला सशक्तिकरण, संगठन सुदृढीकरण र पार्टीको नीति–कार्यक्रम प्रवद्र्धनमा प्रमुख कडीको रूपमा परिचालन गर्ने योजना बनाएको छ ।
नवनियुक्त अध्यक्ष बिन्दु ठाकुरले भनिन्, ‘महिलाको आवाज र सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो हुन्छ । यो समिति महिलाको सशक्तिकरण र न्यायपूर्ण सहभागिताको लागि प्रतिबद्ध रहनेछ ।’
समितिका सदस्यहरूमा बिभा ठाकुर, बिमला साह, पूनम झा, निर्मला झा, रामकुमारी बिन, अञ्जना दत्त, रागिनी देवी कर्ण, चन्द्रकला राउत, मञ्जू यादव, अनिता महरा, सुनिता कर्ण, निर्मला सिंह, पिंकी पण्डित, रेखा बैठा, ललिता देवी, रिंकी कुमारी पासमान, रुन्टी साह र मेघा कुमारीलाई मनोनयन गरिएको हो ।

तराई–मधेश लोकतान्त्रिक पार्टीले नयाँ समितिलाई सफल कार्यान्वयनका लागि शुभकामना दिँदै आगामी दिनमा महिलाको नेतृत्वलाई अझ नीतिगत निर्णयदेखि संगठनात्मक परिचालनसम्म सशक्त रूपमा अघि बढाइने संकेत दिएको छ ।
पार्टी अध्यक्ष लालका अनुसार, ‘हामी महिलाको सहभागिता केवल नारासम्म सीमित राख्दैनौं । अब महिला नेतृत्व रणनीतिक तहमा देखिन्छ । यो तदर्थ समिति त्यसको प्रारम्भिक संकेत हो ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


