रौतहट, ७ वैशाख । रौतहट जिल्लाको परोहा नगरपालिकामा भइरहेका प्रशासनिक बेथिति, अनियमितता र नागरिक सेवामा चरम लापरवाहीविरुद्ध एक स्थानिय बासिन्दाले अनौठो तर गम्भीर विरोध शैली अपनाएका छन् ।

परोहा नगरपालिका–८ नरकटिया टोलका मो. जफिर आलमले नगरपालिकाको लापरवाही र गैरजिम्मेवार रवैयाको विरोधमा आइतबारदेखि कपडाविनै अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

धर्ना नगरपालिकाको केन्द्रबिन्दु लौकाहा बजारमा भइरहेको छ । त्यहाँ आलम शारीरिक रूपमा नाङ्गो अवस्थामा बसेका छन् । उनले यस प्रकारको प्रतिवाद जनाउँदै जनप्रतिनिधिहरूको संवेदनहीनता र सेवा प्रवाहमा देखिएको लापरवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आलमले भने, ‘नगरपालिकाले बजेटको सदुपयोग गर्न सकिरहेको छैन, नागरिकको सेवा प्रवाहमा ढिलासुस्ती, अफिसका कर्मचारीहरूको मनपरी अनि जनप्रतिनिधिहरूको उत्तरदायित्वविहीन व्यवहारले हामी स्थानीय बासिन्दा हैरान भएका छौं । मैले धेरैपटक आवाज उठाएँ । तर, सुन्ने कोही छैन । अब यसरी अनशन बस्नु मेरो बाध्यता हो ।’

उनको भनाइअनुसार जबसम्म नगरपालिका प्रशासनले सुधारका लागि स्पष्ट प्रतिबद्धता जनाउँदैन तबसम्म उनी आफ्नो आन्दोलन जारी राख्ने छन् ।

जफिर आलमको यस्तो विरोध शैलीले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया र चर्चा पाएको छ । धेरैले उनलाई ‘निडर नागरिक’ भन्दै समर्थन जनाइरहेका छन् भने केहीले यस्तो प्रदर्शनलाई ‘चरम निराशाको संकेत’ भन्दै व्यवस्थामा सुधारको माग गरेका छन् ।

तर, यति गम्भीर र व्यापक ध्यान तान्ने घटनापछि पनि परोहा नगरपालिकाको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया वा पहल देखिएको छैन । नगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृतहरू मौन छन् ।

स्थानीय बासिन्दाहरूले नगरपालिकामा भ्रष्टाचार, ढिलासुस्ती र पहुँचविहीन सेवाको आरोप लगाउँदै आएका छन् । विकास योजनाको बजेट पारदर्शी रूपमा खर्च नभएको, योजना छनोटमा पक्षपात हुने र सेवाग्राहीलाई सास्ती हुने गुनासो आम छन् ।

यस किसिमको अनौठो तर साहसी विरोधले प्रदेश र संघीय तहसम्म ध्यान खिच्न सक्ने संकेत देखिएको छ । नागरिक समाज, अधिकारकर्मीहरू र सञ्चारकर्मीहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएर दबाब सिर्जना गर्दै लैजानुपर्ने आवश्यकता औंल्याइएको छ ।