मधेश प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा उपाध्याय र आमसञ्चारमा खडग नियुक्त

जनकपुरधाम, ७ वैशाख । मधेश प्रदेश सरकारले सञ्चार क्षेत्रको सुधार र प्रभावकारी व्यवस्थापनका लागि दुई प्रमुख सञ्चार नियामक निकायमा नयाँ नेतृत्व चयन गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मिडिया काउन्सिलको अध्यक्षमा कमल उपाध्याय र आमसञ्चार प्राधिकरणको अध्यक्षमा जितेन्द्र खडगलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेशका गृहमन्त्री राजकुमार लेखीका अनुसार पछिल्लो समय अध्यक्षहरूको कार्यकाल समाप्त भएदेखि रिक्त रहेका यी निकायहरूमा योग्य, अनुभवी र सञ्चार क्षेत्रमा दीर्घ अनुभव हासिल गरेका व्यक्तित्वहरूलाई जिम्मेवारी दिइएको हो । उनले नयाँ नेतृत्वबाट सञ्चार क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र नविन सुधारको अपेक्षा गरिएको बताए ।
नवनियुक्त मिडिया काउन्सिल अध्यक्ष कमल उपाध्याय बारा जिल्लाका स्थायी बासिन्दा हुन् । उपाध्यायले नियुक्तिपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म मिडिया काउन्सिललाई एक स्वतन्त्र, सक्षम र उत्तरदायी नियामक निकायको रूपमा स्थापित गर्न प्रतिबद्ध छु । प्रेस स्वतन्त्रता र सूचना पहुँचको सम्मान गर्दै म पत्रकारिता क्षेत्रको मर्यादा र व्यावसायिकता सुनिश्चित गर्न काम गर्नेछु ।’
सप्तरी जिल्लाका जितेन्द्र खडग आमसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका छन् । खडग लामो समयदेखि प्रविधि, सूचना सञ्चार प्रवाह र डिजिटल माध्यमहरूको विकासमा सक्रिय रहँदै आएका छन् । उनले डिजिटल पत्रकारिता र सञ्चार पूर्वाधार विस्तारमा विशेष जोड दिँदै आएका छन् ।
प्राधिकरणको जिम्मेवारी सम्हाल्ने अवसर पाउँदा आफू गौरवान्वित भएको प्रतिक्रिया दिँदै खडगले भने, ‘प्रदेशमा सञ्चार प्रविधिको विकास र पहुँच विस्तार मेरो प्रमुख प्राथमिकता हुनेछ । हामी स्थानीय सञ्चार माध्यमहरूलाई सशक्त बनाउने, डिजिटल पहुँच विस्तार गर्ने र सूचना प्रवाहलाई प्रभावकारी बनाउने दिशामा अग्रसर हुनेछौँ ।’
मधेश प्रदेश सरकारले मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणलाई सञ्चार सुधारका महत्वपूर्ण अङ्गका रूपमा लिएको छ । अबका दिनमा यी निकायहरूले सञ्चार माध्यमहरूको नियमन, आचारसंहिता कार्यान्वयन, सञ्चारकर्मीहरूको अधिकार संरक्षण तथा सूचना व्यवस्थापनमा सशक्त भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
नयाँ नेतृत्वले नीतिगत सुधार, दक्ष जनशक्ति परिचालन र नवीन प्रविधिको उपयोगमार्फत प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित, समावेशी र जिम्मेवार बनाउने लक्ष्य लिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


