जनकपुरधाम, ७ वैशाख । धार्मिक, ऐतिहासिक र सांस्कृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने जनकपुरधामको विवाह मण्डप क्षेत्रस्थित आकर्षक फाउन्टेन (झरना) विगत केही वर्षदेखि पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ ।

जनकपुर भ्रमण गर्ने पर्यटक र स्थानीयवासीका लागि रमणीय स्थलका रूपमा परिचित यो फाउन्टेन अहिले अव्यवस्थित र उपेक्षित बनेको छ । यसकारण विवाह मण्डपको सौन्दर्य र पर्यटकीय महत्त्वमा उल्लेखनीय गिरावट आएको छ ।

कुनै समय विवाह मण्डपमा आउने जो कोहीको ध्यान तान्ने मुख्य विशेषता मानिएको फाउन्टेन आज विरक्तिलो दृश्यमा परिणत भएको छ । झिलिमिली बत्ती र पानीको लयात्मक नृत्यले सुसज्जित यो फाउन्टेन साँझको समयमा अत्यन्त मनमोहक दृश्य प्रस्तुत गर्ने गर्दथ्यो । तर, अहिले त्यसको ठाउँमा झारपात, फोहोर र बिग्रिएको संरचनाले भरिएको चिसो, निराशाजनक दृश्य देखिन्छ ।

स्थानीय सुशील कर्ण भन्छन्, ‘विवाह मण्डपको फाउन्टेन पुनः सञ्चालनमा ल्याउन सकिएमा यहाँको पुरानो आकर्षण फर्किन सक्छ । यो केवल सौन्दर्यको कुरा नभई यहाँ आउने पर्यटकका लागि एक रमाइलो अनुभवको पुनःस्थापना पनि हो ।’

फाउन्टेन मात्र नभई वरिपरि रहेको पार्क क्षेत्रसमेत हाल सरसफाइको अभावमा अस्तव्यस्त देखिन्छ । थुप्रिएको फोहोर, बिग्रिएको पानीको ट्याङ्की र स्याहारविहीन संरचनाले धार्मिक पर्यटन प्रवद्र्धनका लागि चिन्ताजनक संकेत दिएको स्थानीयहरू बताउँछन् ।

जनकपुरधाम नेपालका प्रमुख धार्मिक गन्तव्यहरूमध्ये एक हो । यहाँ वर्षभरि लाखौं श्रद्धालु र पर्यटक आउने गर्छन् । विशेष गरी जानकी मन्दिर, विवाह मण्डप र अन्य धार्मिक स्थलहरूको सांस्कृतिक महत्त्वका कारण जनकपुरलाई ’हिन्दू धार्मिक पर्यटनको हब’ मानिन्छ । तर, यस्तो गन्तव्यस्थलमा आधारभूत संरचना नै जीर्ण र बेवास्तामा परेपछि पर्यटकहरूको अनुभव खस्कँदै गएको देखिन्छ ।

‘धार्मिक स्थलहरूमा पुगेर आत्मिक सन्तोषसँगै सौन्दर्यको अनुभूति पनि हुनु पर्छ,’ स्थानीय व्यवसायी रामप्रसाद मिश्रले भने, ‘तर, विवाह मण्डपको फाउन्टेन बन्द भएपछि त्यहाँ जानेलाई निराशा मात्रै हात लाग्छ ।’

फाउन्टेन पुनःसञ्चालन र मण्डप क्षेत्रको समग्र व्यवस्थापनमा ध्यान दिन सके जनकपुरधामको पर्यटन क्षेत्रले नयाँ उचाइ हासिल गर्न सक्ने सम्भावना विश्लेषकहरूले औंल्याएका छन् । विवाह मण्डपको ऐतिहासिकता र आस्थासँगै आधुनिक व्यवस्थापनको समिश्रणले यो स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ आकर्षक गन्तव्यमा रुपान्तरण गर्न सकिन्छ ।

संघीय र स्थानीय सरकारले धार्मिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिने बताइरहँदा विवाह मण्डपको यस्तो लथालिङ्ग अवस्था त्यो दाबीविपरीत देखिएको छ । सरोकारवाला निकायहरूले तत्काल यसतर्फ ध्यान दिएर फाउन्टेन पुनः संचालन तथा मण्डप क्षेत्रको समग्र व्यवस्थापनमा सक्रियता देखाउनु आवश्यक भएको स्थानीयवासीको माग छ ।