जानकी जन्मोत्सवमा राष्ट्रिय विदा घोषणा गर्न माग

जनकपुरधाम, ७ वैशाख । आदिशक्ति जानकी माताको जन्मोत्सवको अवसरमा राष्ट्रिय विदा घोषणा गर्नुपर्ने मागसहित जनकपुरधामस्थित श्री रामानन्दीय श्री वैष्णव संघले धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयालाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष रामरोशन दास वैष्णवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त ज्ञापनपत्र बुझाउँदै जनकपुरधामको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्वलाई दृष्टिगत गर्दै वैशाख २३ गते पर्ने जानकी नवमीको दिनलाई राष्ट्रिय विदाको रूपमा मान्यता दिनुपर्ने आग्रह गरेका छन् ।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार जानकी माता केवल मिथिलाको गौरव मात्र नभई सम्पूर्ण हिन्दू सभ्यताकी श्रद्धास्थान हुन् । उनको जीवनदर्शनले नारीशक्तिको धैर्य, समर्पण, आदर्श र आत्मबललाई उजागर गर्दै आएको भन्दै मातृशक्तिप्रति राष्ट्रको सम्मान स्वरूप सार्वजनिक विदा दिइनु समयानुकूल र न्यायोचित हुने उल्लेख छ ।

‘जानकी माता मिथिला मात्र नभई सम्पूर्ण नेपाल र हिन्दू समाजको सांस्कृतिक आत्मा हुनुहुन्छ । उहाँको जन्मस्थल जनकपुरधाममा लाखौं भक्तजन दर्शन र पूजाका लागि आउँछन् । यस्तो अवसरमा विदा नहुनु दुःखद कुरा हो,’ अध्यक्ष दासले भने ।
उनले थपे, ‘सरकारले राष्ट्रिय एकता र पहिचान झल्काउने थुप्रै पर्वहरूमा विदा दिँदै आएको छ । जानकी नवमीजस्तो शान्ति, समानता र समर्पणको पर्वमा पनि राष्ट्रिय विदा दिइनुपर्छ ।’
संघले बुझाएको ज्ञापनमा जानकी नवमीको धार्मिक, सामाजिक, आर्थिक र पर्यटन पक्षको गहिरो प्रभावलाई पनि जोड दिइएको छ । प्रत्येक वर्ष लाखौंको संख्यामा नेपाल, भारत र अन्य देशका श्रद्धालु जनकपुरधाम आइ पुग्ने भएकाले यस दिनको राष्ट्रिय मान्यता आवश्यक रहेको भनिएको छ ।

यस वर्ष जानकी नवमी विशेष रूपमा ९ दिनसम्म धूमधामसाथ मनाइने तयारीमा रहेको जानकारी पनि दिइएको छ । संघका अध्यक्ष दासका अनुसार पहिलो दिन दूधमती नदीमा शाही स्नान, त्यसपछि दैनिक रामायण पाठ र रामकथा सञ्चालन हुनेछ ।
‘मुख्य दिन जन्म आरती, सन्ध्या आरती र दीप प्रज्वलनको विशेष कार्यक्रम हुने तालिका तयार भएको छ,’ दासले जानकारी दिए ।त्यस्तै, विभिन्न मठ मन्दिरमा धार्मिक गोष्ठी, झाँकी प्रदर्शन र प्रवचन कार्यक्रमहरू पनि आयोजना गरिने उनले बताए । संघको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि ज्ञापन पत्र पठाइएको छ ।
रामरोशन दासले भने, ‘मातृशक्तिको प्रतीक जानकी माताको सम्मानमा यदि सरकारले राष्ट्रिय विदा दिन्छ भने त्यो सम्पूर्ण देशका लागि एक ऐतिहासिक निर्णय हुनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


