मोनाष्टिकमा अभिभावक–शिक्षक बैठक सम्पन्न

जनकपुरधाम, ६ वैशाख । मोनाष्टिक आवासीय माध्यमिक विद्यालय जनकपुरधामले शनिबार प्लेग्रुपदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको लागि अन्तिम त्रैमासिक अभिभावक–शिक्षक बैठक (पिटिएम) भव्य रूपमा सम्पन्न गरेको छ ।
शैक्षिक सत्र २०८१ को अन्तिम समीक्षा एवम् अभिभावकसँगको अन्तक्र्रियात्मक सम्वादका रूपमा यो बैठकले विद्यार्थीको शैक्षिक प्रगति, व्यवहारिक सुधार र भावी योजनाबारे अभिभावक र शिक्षकहरूलाई नजिक ल्याउने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रमलाई अझ प्रभावकारी र आकर्षक बनाउन कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक कार्यहरू (प्रोजेक्ट वर्क, कला, विज्ञान नमुना, सामाजिक अध्ययनका विषयवस्तु) रोचक तरिकाले प्रदर्शनीमार्फत अभिभावकहरूसामु प्रस्तुत गरे । उनीहरूको आत्मविश्वास, प्रस्तुतीकरण शैली र विषयप्रतिको बुझाइले उपस्थित अभिभावकहरूलाई दंग पारेको थियो ।
बैठकमा शिक्षकहरूले विद्यार्थीको नतिजा, व्यवहारिक प्रगति, कमजोरी र सुधारका उपायबारे अभिभावकसँग खुला संवाद गरेका थिए । अभिभावकहरूले समेत विद्यालयको नियमित अनुशासन, सिकाइ पद्धति र अतिरिक्त क्रियाकलापहरूप्रति सन्तोषजनक प्रतिक्रिया दिएका थिए ।
विद्यालयका निर्देशक डा. सोनु साहले अभिभावक–शिक्षक सम्वादलाई ‘समृद्ध शैक्षिक भविष्यको मेरुदण्ड’ भन्दै सबैलाई सहकार्यमा अघि बढ्न आग्रह गरे । उनले भने, ‘हामी केवल पाठ्यपुस्तक केन्द्रित शिक्षामा नभई विद्यार्थीहरूलाई जीवन उपयोगी सीप, सृजनात्मकता र नेतृत्व क्षमता विकास गर्ने कुरामा केन्द्रित छौं । आजको प्रदर्शनीले त्यो दृष्टिकोणलाई अझ प्रष्ट पारेको छ ।’
डा. साहले आगामी दिनहरूमा शिक्षक प्रशिक्षण, नविन प्रविधि प्रयोग, अभिभावक समन्वय र विद्यार्थीकै सक्रियतामा आधारित शिक्षण प्रक्रियालाई अझ सुदृढ बनाइने जानकारी पनि दिए ।
विद्यालय प्रशासनले शैक्षिक सत्र २०८१ भरि अभिभावक, शिक्षक र विद्यार्थीहरूले देखाएको सहयोग, प्रतिबद्धता र मेहनतप्रति आभार व्यक्त गर्दै आगामी सत्र अझ प्रगतिशील र उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।
‘हामी शिक्षालाई केवल अंकको खेल मात्र नभई जीवन निर्माणको प्रक्रियाका रूपमा लिन्छौं,’ निर्देशक डा. साहले भने ।
















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


