जनकपुरधाम, ६ वैशाख । मैथिली भाषा र साहित्यको प्रवर्द्धनमा समर्पित ‘मैथिली विकास कोष’ को नियमित मासिक आयोजनाअन्तर्गत बैशाख महिनाको मैथिली कथा गोष्ठी आज जनकपुरधामस्थित रामानन्द चोकको ‘सीता प्यालेस’ हलमा सफलतापूर्वक सम्पन्न भएको छ ।

हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कथा गोष्ठीले नयाँ र पुराना साहित्यिक प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याउँदै साहित्यिक संवादको गतिशील परम्परा स्थापनाको प्रयास गर्दै आएको छ ।

गोष्ठीमा कुल ६ जना युवा साहित्यकारहरूले आ–आफ्ना मौलिक कथाहरू वाचन गरे । प्रस्तुत कथाहरूका मूल्याङ्कन उपरान्त धीर सिंह पहिलो, कुशल झा दोस्रो तथा अभिराज साह तेस्रो स्थानमा घोषित भए । उनीहरूले सामाजिक यथार्थ, मानवीय सम्बन्ध र संवेदनशील कथानक प्रस्तुत गर्दै स्रोताहरूको मन जितेका थिए ।

कार्यक्रममा कथाबाचन गर्ने लेखकहरूमा अभिराज साह, कुशल झा, धीर सिंह, सुजीत कुमार झा, अनित कुमार कर्ण लगायत थिए । प्रत्येक कथामा मैथिली समाजको परिवेश, भोगाइ, संघर्ष र आशा–विश्वासको चित्रण गरिएको पाइयो ।

कार्यक्रमका समापनमा पत्रकार तथा कथा गोष्ठी संयोजक सुजीत कुमार झाले विजयी प्रतिभाहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्दै यस्तो कार्यक्रमले नवप्रतिभाहरूलाई उर्जा दिनेसम्मन्वयन र उन्मुखता दिने कार्य गरिरहेको बताए ।

उनले भने, ‘मैथिली साहित्यको जगेर्ना भाषिक संस्कृतिको जगेर्ना हो । नियमित कथा गोष्ठीले नयाँ पुस्तालाई लेखनतर्फ आकर्षित गर्दै लैजाने हाम्रो प्रयास हो ।’

कार्यक्रमको अध्यक्षता गरेका अनिष मण्डलले युवा पुस्ताले भाषा र साहित्यमा देखाइरहेको रुचि र सक्रियतालाई प्रशंसा गर्दै भने, ‘यस्ता मञ्चहरू युवाहरूका लागि अभ्यास र अभिव्यक्तिको प्रयोगशाला हुनुपर्छ ।’

मैथिली विकास कोषले जनकपुरधाममा मैथिली साहित्यको विविध विधामा क्रियाशील प्रतिभाहरूलाई संगठित गर्दै कथा, कविता, नाटक, गीति साहित्य लगायतमा नियमित सृजनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस्ता गोष्ठीहरू भाषा संरक्षण, मौलिक अभिव्यक्ति तथा समावेशी साहित्यिक विकासको आधार बन्ने आयोजकको विश्वास छ ।