भारतीय प्रधानमन्त्रीको मधुवनी भ्रमणअघि नेपाल–भारत सुरक्षा अधिकारीबीच सीमा सुरक्षा सम्बन्धी ७ बुँदे सहमति

जनकपुरधाम, ६ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख १२ गते मधुवनी जिल्लाको भ्रमणमा आउने कार्यक्रम तय भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ । यही सन्दर्भमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच जयनगरमा उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकमा नेपालतर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी बलका प्रमुखहरू तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए । भारततर्फबाट मधुवनी जिल्ला प्रशासनका शीर्ष सुरक्षा अधिकारीहरू, प्रहरी र अर्धसैनिक बलका प्रतिनिधिहरू सहभागी थिए ।
बैठकमा सहभागी नेपाली अधिकारीहरूका अनुसार भारतीय प्रधानमन्त्रीको आगमनले सीमावर्ती क्षेत्रलाई संवेदनशील बनाउने भएकाले दुबै देशका सुरक्षा संयन्त्र बीच पूर्वतयारी, समन्वय र जानकारी आदान–प्रदानलाई अझ मजबुत बनाउने सहमति भएको हो । भारतीय पक्षले मोदीको भ्रमण शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित बनाउने प्राथमिकतासहित सीमाबाट हुने गैरकानुनी आवत–जावत, अपराधिक गतिविधि र अवाञ्छित तत्वहरूको निगरानी तीव्र गर्न आग्रह गरेका थिए ।
बैठकमा सीमावर्ती क्षेत्रमा सुरक्षा गस्ती बढाउने, विशेष गरी सशस्त्र प्रहरी र सीमा सुरक्षा बलको संयुक्त गस्ती व्यवस्था सुदृढ गर्ने, सीमा नाका र भन्सार क्षेत्रमा सवारी साधन तथा व्यक्तिको निगरानी प्रणाली कडा बनाउने, गैरकानुनी हतियार, लागूपदार्थ तथा मानव तस्करी नियन्त्रणमा संयुक्त अपरेसन तथा सूचना आदान–प्रदान गर्ने, भ्रमण अवधिभर सीमामा विशेष सतर्कता अपनाउने, शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूको निगरानी गर्ने, स्थानीय प्रशासन, प्रहरी र सुरक्षाकर्मीबीच हरेक १२ घण्टामा अन्तरसमन्वय बैठक तथा जानकारी आदान–प्रदान गर्ने, सामान्य नागरिकलाई सहजरूपमा आवागमन गर्न दिने तर सुरक्षा मापदण्ड पालना गराउन प्रष्ट निर्देशन दिने र सम्भावित अप्रिय घटना रोक्न दुवै देशका सुरक्षा निकायले ’¥यापिड रिस्पोन्स टिम’ तयार राख्नेलगायतका ७ बुँदामा सहमति भएको नेपाली अधिकारीहरूले जनाएका छन् ।

यस्ता बैठकहरू अघिल्लो दशकदेखि सीमित रुपमा हुँदै आए पनि पछिल्लो समय सीमा सुरक्षालाई दुईदेशीय कूटनीतिक, रणनीतिक र स्थानीय स्थायित्वसँग जोडेर हेरिन थालेको देखिन्छ ।
बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीका अनुसार, ‘भारतको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा भएको यो बैठकले दुबै देशबीचको सुरक्षा विश्वास बढाएको छ ।’
जयनगर–जनकपुर–मधुवनी सडक खण्ड आसपासका क्षेत्रमा नियमित गस्ती, चेकपोइन्ट र निगरानी क्यामेरा थप्ने काम भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


