मिर्चैयामा नालामा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु

सिरहा, ६ वैशाख । सिरहाको मिर्चैया नगरपालिका–५ मा शनिबार बिहान खुला नालामा डुबेर डेढ वर्षिया बालिकाको ज्यान गएको छ । स्थानीय किसुन साफीकी छोरी आसिका साफीको मृत्युले सम्पूर्ण नगरवासी स्तब्ध र आक्रोशित भएका छन् ।
घटना बिहान करिब ८ बजे भएको बताइएको छ । खेल्ने क्रममा बालिका नजिकै रहेको अधुरो र खुला नालामा खसिन् । खोजतलास भइरहेका बेला छिमेकीले बालिका नालामा डुबेको देखेपछि तत्काल उद्धार गरिएको थियो । तर, उनलाई बचाउन सकिएन ।
घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् । उनीहरूले मिर्चैया नगरपालिकाले वर्षौंदेखि नाला निर्माण गरेको भए पनि नालामाथि ढक्कन नराखेको लापरवाहीले अनेकौं दुर्घटना निम्त्याएको आरोप लगाएका छन् ।
‘नाला निर्माणको नाममा लाखौं खर्च हुन्छ । तर, ढाक्ने काम हुँदैन । पहिले पनि यस्ता घटनाहरू भएका छन् । अहिले त बच्चाकै ज्यान गयो, अब पनि नगरले आँखा खोलेन भने जनआन्दोलन हुन्छ ।’
नगरपालिकाले विकासको नाममा नाला निर्माण भने जथाभावी र अधुरो अवस्थामा छाड्ने गरेको स्थानीयवासीको आरोप छ । कतिपय स्थानमा नाला बनाइएको भए पनि ढल निकास, ढाक्ने संरचना वा चेतावनी चिन्ह नराखिएको हुँदा नजिकै बसोबास गर्ने बासिन्दा विशेषगरी बालबालिका र वृद्धवृद्धा जोखिममा छन् ।
साफी परिवार अहिले शोकमा डुबेका छन् । आमा–बुबाले बिहानदेखि नै छोरी हराएको भन्दै खोजी गरिरहेका थिए । एक छिमेकीले बालिका नालामा देखेको खबर दिएपछि उनलाई नाला बाट निकालिएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ । प्रहरीका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।
घटनापछि प्रभावित क्षेत्रका नागरिकहरू सङ्गठित हुँदै तत्काल नगरपालिकाले सबै खुला नालामा ढक्कन राख्न, चेतावनी बोर्ड जडान गर्न र गम्भीर दुर्घटनाको जिम्मेवारी लिन माग गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


