जनकपुरधाम, ६ वैशाख । संसदीय मामिला पत्रकार समाजको आयोजनामा आज जनकपुरधाममा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा वरिष्ठ पत्रकार तथा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता संसदीय मामिला पत्रकार समाजका अध्यक्ष वीरेन्द्र रमणले गरे । उनले संसदीय अभ्यासलाई जनमानससम्म पुर्याउन पत्रकारहरूको भूमिका अझै स्पष्ट, जिम्मेवार र विश्लेषणात्मक हुनुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले पत्रकारितालाई लोकतन्त्रको चौथो अङ्ग मात्र नभई जनता र संसदबीचको सेतु भएको उल्लेख गरे । उनले भने, ‘संसदीय प्रणालीबारे जनमानसमा जानकारी पुर्याउने जिम्मेवारी सञ्चारकर्मीहरूको हो । जनताको आवाज संसदमा पुर्याउने र संसदको काम जनतासम्म पुर्याउने कार्यमा पत्रकारहरूको योगदान अमूल्य छ ।’

सभामुख मण्डलले संसदीय मामिलामा संलग्न पत्रकारहरूलाई नीति निर्माण, कानुनी प्रक्रिया र विधेयक विश्लेषणमा थप दक्ष बनाउने आवश्यकता औंल्याउँदै यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा मधेश प्रदेशका विभिन्न सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत वरिष्ठ पत्रकारहरूलाई सम्मान गरिएको थियो । सभामुख मण्डलले सम्मानित पत्रकारहरूलाई दोसल्ला ओढाउँदै सञ्चारको मर्यादा र दायित्वको पहरेदारको रूपमा उनीहरूको योगदानको प्रशंसा गरे ।

सम्मानित पत्रकारहरूले लोकतान्त्रिक अभ्यास सुदृढ गर्नका लागि स्वतन्त्र, निडर र तथ्यमा आधारित पत्रकारिताको खाँचो औंल्याउँदै संसदसँग सहकार्य गर्दै जनहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष वीरेन्द्र रमणले संसदीय मामिलामा विशेष ज्ञान र विश्लेषण आवश्यक हुने भएकाले विशेष प्रशिक्षण, संसदीय सत्रको प्रत्यक्ष रिपोर्टिङ र विधेयक अध्ययनमा आधारित पत्रकारिता अभ्यास गरिनुपर्ने बताए । उनले आगामी दिनहरूमा संसदीय पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि कार्यशाला र तालिम कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले संसदसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा जानकारी र पहुँच अभिवृद्धिको खाँचो महसुस गराउँदै खुला संवाद, तथ्यमा आधारित सूचना प्रवाह र विधेयक–नीति विश्लेषणमा संसदको सहयोग अपेक्षा गरेका थिए ।