– बरूणा कर्ण
जनकपुरधाम, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५६औं स्थापना दिवसको अवसरमा धनुषा जिल्ला कार्यसमितिको आयोजनामा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) जनकपुरधाममा वृक्षरोपण तथा विचार विमर्श कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेविसंघका पूर्वकेन्द्रीय सभापति तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले क्याम्पस प्रांगणमा वृक्षरोपण गर्दै आफ्नो सम्बोधनमा नेविसंघलाई ‘लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति’ भन्दै त्यसको गौरवशाली इतिहास सम्झाए ।

उनले भने, ‘नेविसंघ कुनै पार्टीको संगठन मात्र होइन, यो संस्था हो । यसले मुलुकमा लोकतन्त्र, गणतन्त्र र मानव अधिकारको जग बसाल्न ऐतिहासिक भूमिका खेलेको छ ।’

वृक्षरोपणपश्चात् आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै निधिले हाल देशमा राजनीतिक अस्थिरता, सत्तामोह र भ्रष्ट प्रवृत्तिको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गर्दै विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व बोध गराउँदै सचेत भूमिका खेल्न आग्रह गरे ।

उनले थपे, ‘देशमा गणतन्त्रलाई असफल पार्ने षड्यन्त्र भइरहेको छ । अहिलेको समयमा विद्यार्थीहरू जाग्न जरुरी छ । विचार र विवेकको राजनीति नेविसंघको मार्ग हो, त्यसबाट विचलित हुनु हुन्न ।’

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री महेन्द्र यादवले नेविसंघलाई केवल नाराबाजीमा सीमित नराखी शिक्षाको गुणस्तर, नेतृत्व विकास र समावेशिताको पक्षमा काम गर्नुपर्ने सुझाव दिए । उनले नेविसंघलाई ‘शक्तिशाली तर जिम्मेवार विद्यार्थी संगठन’का रूपमा अघि बढाउन जोड दिए ।

प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले नेविसंघको माध्यमबाट विकास, शिक्षा सुधार र युवा नेतृत्वको निर्माण गर्न सकिने धारणा राखे । प्रदेशसभा सदस्य राम सरोज यादवले मधेशका क्याम्पसहरूमा नीति निर्माणमै प्रभाव पार्ने खालको विद्यार्थी चेतना निर्माण गर्नु आवश्यक रहेको बताए ।

जिल्ला सभापति योगेन्द्र पजियारले धनुषा जिल्लामा नेविसंघको सशक्त संगठन निर्माण गर्दै युवा–विद्यार्थीलाई सकारात्मक अभियानमा संलग्न गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संविधानसभा सदस्यहरू तथा अन्य नेताहरूले पनि लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापनासम्म नेविसंघको योगदानको चर्चा गर्दै वर्तमान परिस्थितिमा संघको भूमिकालाई समयअनुकूल सुदृढ बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरू, भ्रातृ संगठनका प्रतिनिधिहरू, शुभेच्छुक संघसंस्थाका पदाधिकारीहरू, राराब क्याम्पसका विद्यार्थी, शिक्षक वर्ग, तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।