पडौल स्थानमा प्रसाद खान गएका व्यक्तिहरूमाथि मदिरा सेवन गरेका एक समूहद्वारा आक्रमण, दर्जन बढि घाइते

महोत्तरी, ६ वैशाख । महोत्तरीको बलवा नगरपालिकास्थित पडौल स्थानमा मदिरा सेवन गरेका समूहको आक्रमणबाट प्रसाद खान पुगेका करिब एक दर्जन व्यक्ति घाइते भएका छन् ।
महोत्तरीको बलवा नगरपालिकास्थित पडौल स्थानमा प्रसाद खान गएका व्यक्तिहरूमाथि मदिरा सेवन गरेका एक समूहले आक्रमण गरेको घटनामा कम्तीमा १२ जना गम्भीर घाइते भएका हुन् । आक्रमणकारीहरूले खुकुरी, रड र छुराको प्रयोग गरी निर्दोष व्यक्तिहरूलाई चपेटामा पारेका थिए ।
घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूमा हुकुम देव साह, मिना देवी, ललित मण्डल, रवि साह, सिकेन्द्र झा, विशुन देव साह, रिना देवी, रानी साह, तिलक साह, ऋषि राज साह, चन्द्रकला देवी साह, र धिरज साह लगायतकाहरू रहेका छन् ।
घाइतेहरूको उपचार हाल जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा भइरहेको छ । केही व्यक्तिको अवस्था गम्भीर रहेको छ । हुकुम देव साह र मिना देवीलाई खुकुरी र रडको प्रहारबाट गम्भीर चोट लागेको छ ।
स्रोतका अनुसार घटनामा संलग्न चार व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूलाई बलवा प्रहरी चौकीमा राखिएको छ । स्थानीय प्रशासनले थप अनुसन्धान गरिरहेको छ । घाइतेमध्ये केही व्यक्तिहरूलाई काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ ।
आक्रमणकारीहरू मदिरा सेवन गरेका थिए । स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिहरूसँग कडाईका साथ अनुसन्धान गर्न थालिसकेको छ । तर, केही स्थानीय नेताहरूले पक्राउ गरिएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न दबाब दिइरहेका छन् ।
स्थानीय नेताहरूको दबाबले प्रशासनमा असहज स्थिति सिर्जना गरेको बताइएको छ । विभिन्न पार्टीका नेताहरूले घटनामा संलग्न चार जनालाई छोडनका लागि दबाब दिन थालेका छन् । प्रशासनले भने यस घटनालाई कानूनी रुपमा प्राथमिकतामा राखेर दोषीलाई चाँडो कारवाही गर्न प्रतिवद्ध रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


