जनकपुरधाम, ५ वैशाख । धनुषा जिल्लाको ढल्केवरस्थित नेपाल विद्युत् प्राधिकरणको प्रमुख ग्रिड सबस्टेसनमा बुधबार बिहान अचानक भीषण आगलागी हुँदा करिब १२ करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्राधिकरणका अनुसार आगलागीले ग्रिडका महत्वपूर्ण संरचनाहरू पूर्णरूपमा नष्ट भएका छन् ।

ढल्केवर ग्रिड महाशाखाका प्रमुख इन्जिनियर विनोद लोहनीका अनुसार आगलागीका कारण १३२–३३ केभीको एउटा ठुलो ट्रान्सफर्मर, २ वटा ३३ केभीका डोमेज ट्रान्सफर्मर र विभिन्न कन्ट्रोल केबलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

नेपालकै एक महत्त्वपूर्ण ग्रिडको रूपमा परिचित ढल्केवर ग्रिडमा आगलागी भएपछि धनुषा, महोत्तरी र सर्लाही जिल्लाको ठूलो क्षेत्र अन्धकारमा डुबेको थियो । विद्युत् अवरुद्ध हुँदा दैनिक जनजीवन मात्र नभई उद्योग, अस्पताल र सञ्चार सेवा पनि प्रभावित भएका थिए ।

यद्यपि, विद्युत् प्राधिकरणका प्राविधिकहरूको लगातार प्रयासपछि हिजो दिउँसोदेखि अवरुद्ध क्षेत्रमा पुनः विद्युत् आपूर्ति सुचारु गरिएको छ । आगलागीको कारणबारे हालसम्म यकिन खुलेको छैन । तर, प्राविधिक कमजोरी, ट्रान्सफर्मरको अधिक तातो र कन्ट्रोल सिस्टममा शर्ट सर्किटजस्ता सम्भावनालाई अनुसन्धानको केन्द्रमा राखिएको ढल्केवर ग्रिड स्रोतले जनाएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार भौतिक संरचना तथा उपकरणमा मात्रै १२ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयं ढल्केवर पुगेर क्षतिको अवलोकन गरेका छन् । उनले प्राविधिक टोलीलाई तत्काल प्रतिवेदन तयार गर्न निर्देशन दिँदै आवश्यक उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्यलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

शाक्यले भने, ‘ढल्केवर ग्रिडको महत्त्व राष्ट्रियस्तरमा छ । हामी तत्काल मर्मतको प्रक्रिया अगाडि बढाउँदैछौं र सेवा स्थायित्वमा कुनै सम्झौता गर्ने छैनौं ।’

ढल्केवर जस्तो महत्त्वपूर्ण ग्रिडमा यस्तो स्तरको आगलागी हुनु आफैंमा गम्भीर विषय हो । यसले भविष्यमा उच्च सतर्कता र प्राविधिक सुधारको खाँचो देखाएको छ ।