जनकपुरधाम, ५ वैशाख । जनकपुरधामको सक्रिय युवा समूह मित्र युवा संगतीको आयोजनामा सम्पन्न भएको ‘रक्तदान, जीवनदान’ कार्यक्रममा ४५ जना युवायुवतीले स्वेच्छिक रक्तदान गरेका छन् । मानव सेवाको भावना बोकेर आयोजना गरिएको यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाएको छ ।

जनकपुरधामका युवाहरूको उल्लेखनीय सहभागिताले कार्यक्रममा उत्साह थपेको थियो । गर्मी मौसम हुँदाहुँदै पनि युवाहरू बिहानैदेखि रक्तदान स्थलमा उपस्थित भई समाजसेवामा आफ्नो योगदान दिएका थिए । आयोजक संस्थाका अनुसार यो कार्यक्रम केवल रक्त संकलनको माध्यम मात्रै नभई समाजमा रक्तदानप्रति चेतना र सकारात्मक सोच फैलाउने अभियानका रूपमा पनि आयोजना गरिएको थियो ।

मित्र युवा संगतीका प्रतिनिधि अखिल मढिले भने, ‘हामीले यो कार्यक्रम कुनै औपचारिकता पूर्ति गर्न होइन, अप्ठ्यारो समयमा रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थालाई टार्नका लागि जिम्मेवार समाज निर्माण गर्न आयोजना गरेका हौं ।’ उनले यस्तो रक्तदान कार्यक्रम निरन्तर चलाइने जानकारी समेत दिए ।

कार्यक्रममा रक्तदान गर्ने अधिकांश युवाहरूले यो अनुभवलाई जीवनको अविस्मरणीय क्षण भन्दै समाज सेवामा संलग्न हुन पाउँदा गर्व लागेको बताए । सहभागीमध्ये एक युवतिले भनिन्, ‘रक्तदानले कसैको जीवन बच्न सक्छ भन्ने थाहा पाएपछि मैले आज पहिलो पटक रक्तदान गरें । अब म अन्य युवाहरूलाई पनि यस अभियानमा जोड्नेछु ।’

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्रविधिक सहयोग तथा समन्वय रहेको थियो । उनीहरूले रक्त संकलन प्रक्रिया सहज र सुरक्षित बनाएका थिए । संकलित रगतहरू आपतकालीन सेवाका लागि पठाइने जानकारी आयोजकले दिएका छन् ।