जनकपुरधाम, ५ वैशाख । जनकपुरधाम उपमहानगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार मिश्रले पदभार सम्हालेको १० दिनमै कार्यालयको आर्थिक तथा प्रशासनिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै जिम्मेवारी सुम्पेका छन् ।

उनले आर्थिक कारोबारसँगै प्रशासनिक गतिविधि सम्बन्धि अख्तियारी शिक्षा शाखाका उपसचिव मेहिलाल यादवलाई दिएका छन् ।

गत चैत २७ गते नगर प्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह, कार्यपालिका सदस्यहरू तथा विभिन्न महाशाखा प्रमुखहरूको उपस्थितिमा मिश्रलाई औपचारिक रूपमा स्वागत गरिएको थियो ।

तर, कार्यभार सम्हालेको केही दिनमै कार्यालयको आन्तरिक अवस्था र अघिल्ला प्रमुख प्रशासकीय अधिकृतले तयार पारेका केही डकुमेन्टहरू अध्ययन गर्दा आशंका उत्पन्न भएपछि मिश्रले आफैंले हस्ताक्षर गर्न असहज महसुस गरेको स्रोतले जनाएको छ ।

उपमहानगरपालिकाभित्र स्रोतसाधनको उपयोगमा पारदर्शिता अभाव रहेको र खर्चको विवरण अस्पष्ट देखिएको भन्दै मिश्रले आर्थिक तथा प्रशासनिक पक्षको अख्तियारी यादवलाई दिँदै आफूले अध्ययन र परीक्षणको समय लिने निर्णय गरेको स्रोतले जनाएको छ ।

एक जना कर्मचारीका अनुसार हाल जनकपुरधाम उपमहानगरपालिकामा तलब तथा नियमित प्रशासनिक खर्चबाहेक अन्य खर्च न्यून छ । ‘केही कोटेशनको काम र उपभोक्ता समितिमार्फत भइरहेका सामान्य काम बाहेक नगरको पूँजीगत खर्चमा कुनै उल्लेखनीय गतिविधि छैन,’ उनले बताए । उनले २ सय फाइलको काम पानामै सीमित रहेकोसमेत जानकारी दिए ।

आर्थिक कारोबारप्रति चासो देखाउँदै अख्तियारी हस्तान्तरण गर्नुले उपमहानगरपालिकाभित्र आर्थिक पारदर्शिता र उत्तरदायित्वको प्रश्न उठाएको छ ।