जनकपुरधाम, ५ वैशाख । समाजसेवाको क्षेत्रमा समर्पित संस्था मानव सेवा आश्रमले जनकपुरधाममा आफ्नै भवन निर्माणको थालनी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित आश्रम निर्माणस्थलमा औपचारिक भूमिपूजन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि उपमहानगरका मेयर मनोज साहको उपस्थिति रहेको थियो भने वडाध्यक्ष महेन्द्र साहले भूमिपूजन गरेका थिए ।

मानव सेवा आश्रमका केन्द्रीय सचिव सुमन बर्तौलाका अनुसार केन्द्रीय गुठी संस्थानले लीजमा उपलब्ध गराएको १३ कठा जग्गामा नयाँ भवन निर्माण कार्य सुरु गर्न लागिएको हो । भवन निर्माणका लागि आवश्यक प्रारम्भिक रकम प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले उपलब्ध गराएको छ ।

भवन निर्माण समितिका अध्यक्ष जितेन्द्र महासेठले भवन दुई तले हुने र त्यसमा करिब १०० जना आश्रितहरू बस्न सक्ने व्यवस्था गरिने जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि कुल ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यसमध्ये ३० लाख रुपैयाँ प्रदेश सरकारको सहयोगबाट प्राप्त भइसकेको छ भने बाँकी रकम विभिन्न सामाजिक सहयोग तथा दातृ निकायहरूबाट संकलन गरिने योजना रहेको उनले बताए ।

जनकपुरधाममा विगत ४ वर्षदेखि सेवा दिइरहेको मानव सेवा आश्रममा हाल ५० जना आश्रितहरू छन् । यहाँ असहाय, गरिब, मानसिक रूपमा कमजोर, सडकमा परेका र परिवारविहीन व्यक्तिहरू बस्छन् । आश्रमले उनीहरूको बसोबास, खानपान, स्वास्थ्य उपचार र आधारभूत आवश्यकताको व्यवस्था गर्दै आएको छ ।

सचिव बर्तौलाले भवन निर्माणसँगै सेवा सुविधा अझ व्यवस्थित र विस्तार गर्न सकिने बताउँदै जनकपुरवासी, उद्योगी–व्यवसायी, संघसंस्था तथा समाजसेवीहरूलाई यस महान कार्यमा आर्थिक तथा भौतिक सहयोग गर्न आह्वान गरे ।

उपमहानगर प्रमुख मनोज साहले समाजको असहाय वर्गको हितमा समर्पित मानव सेवा आश्रमको कार्यप्रति आफू प्रभावित रहेको बताउँदै उपमहानगरपालिकाबाट पनि सम्भव सहयोग गरिने प्रतिबद्धता जनाए ।

वडाध्यक्ष महेन्द्र साहले भने, ‘वडामा यति अर्थपूर्ण सेवा भइरहेकोमा हामी गौरवान्वित छौं । नयाँ भवन बनेपछि अझ धेरै आश्रितहरू लाभान्वित हुनेछन् ।’

समाजसेवामा समर्पित मानव सेवा आश्रमको यस कदमले जनकपुरधाममा सामाजिक उत्तरदायित्व र मानवीयताको उदाहरण पेश गरेको स्थानीयको भनाइ छ । नयाँ भवन निर्माणपछि सडकमा जीवन बिताइरहेका धेरैलाई आश्रयको व्यवस्था मिल्नेछ र मानवता झन् मजबुत हुनेछ ।