जनकपुरधाम, ४ वैशाख । देशभर पार्टी संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातवटै प्रदेशमा नयाँ प्रदेश इन्चार्ज तोकेको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णय लिँदै प्रदेशस्तरीय नेतृत्वमा जिम्मेवारी बाँडफाँड गरेको हो ।

रास्वपाले मधेश प्रदेशको इन्चार्जका रूपमा मनिष झालाई चयन गरेको छ । लामो समयदेखि मधेशमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहेका झाले रास्वपाको संगठन विस्तार तथा स्थानीय तहसम्म जनसंपर्क बलियो बनाउने जिम्मेवारी पाएका छन् । पार्टी नेतृत्वले उनलाई ‘युवा जोश र स्थानीय समझदारी’ का आधारमा यो जिम्मेवारी दिएको बताइएको छ ।

अन्य प्रदेशमा पनि पार्टीले संगठनात्मक जिम्मेवारी सक्षम कार्यकर्तालाई सुम्पिएको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार तोकिएका छन् भने बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी तोकिएकी छन् ।

त्यस्तै, गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल, लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य तोकिदा कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् ।

संघीय संसदमा प्रभावशाली भूमिका खेलिरहेको रास्वपाले अब प्रदेश र स्थानीय तहमा पनि आफ्नो प्रभाव विस्तार गर्न रणनीतिक ढंगले तयारी थालेको देखिन्छ । प्रदेश इन्चार्जहरूको नियुक्ति यसै रणनीतिक योजनाको पहिलो पाइलो भएको पार्टीले जनाएको छ ।

रास्वपाले आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठन निर्माणलाई तीव्रता दिएको छ । प्रदेश इन्चार्जहरूले महाधिवेशन तयारीमा समेत प्रमुख भूमिका खेल्नेछन् ।