जनकपुरधाममा उपसभामुखहरूको जमघट, मुख्यमन्त्रीले गरे स्वागत

जनकपुरधाम, ४ वैशाख । प्रदेश सभामा उपसभामुखहरूको भूमिकालाई थप सशक्त, समावेशी र प्रभावकारी बनाउने उद्देश्यसहित जनकपुरधाममा आयोजित सातै प्रदेशका उपसभामुखहरूको राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनले ’जनकपुर घोषणापत्र २०८२’ जारी गर्दै उपसभामुखहरूको संस्थागत भूमिकालाई सबल बनाउने साझा प्रतिबद्धता व्यक्त गरेको छ ।
बिहीबार साँझ मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो कार्यकक्षमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका उपसभामुखहरूलाई स्वागत तथा सम्मान गरेका छन् ।
सम्मेलनको औपचारिक उद्घाटन राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले गरिन् । उद्घाटन सत्रमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, उपसभामुख बबिता कुमारी राउत ईशर, सातवटै प्रदेशका उपसभामुखहरू, संविधानविद् काशीराज दहाल लगायतको उपस्थिति थियो ।
सम्मेलनमा सहभागी उपसभामुखहरूले आ–आफ्ना प्रदेशहरूमा संसद सञ्चालन, नियमावली निर्माण, दलहरूबीच समन्वय र विधेयक व्यवस्थापन लगायतका विषयमा भोगाइ र अनुभव साटासाट गरे ।
उनीहरूले प्रदेश सभामा आफ्नो भूमिकालाई अझ सशक्त बनाउने उपायका विषयमा सुझाव राखे । राजनीतिक दलसँगको समन्वय, लैंगिक समानता, विधायी अभ्यासको सुदृढीकरण जस्ता बुँदामा विशेष जोड दिइएको थियो ।
मुख्यमन्त्री सिंहले सम्मेलनको स्वागत मन्तव्य दिँदै भने, ‘संविधानले उपसभामुखलाई दिइएको भूमिका केवल प्रतीकात्मक होइन, समावेशी र सन्तुलित संसद सञ्चालनमा अत्यन्त महत्त्वपूर्ण छ । यो सम्मेलन त्यसै दिशामा सकारात्मक पहल हो ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


