जनकपुरधाम, ४ वैशाख । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रामनारायण मिश्र स्मारकको निर्माण कार्य गंगासागर पोखरी क्षेत्रमा असर नपर्ने शर्तमा सुरु भएको छ । संरचना निर्माण कार्य गुठी संस्थान जनकपुर शाखा कार्यालयको स्वीकृतिसँगै अगाडि बढेको हो ।

गुठी संस्थान जनकपुर शाखाले स्मारक समितिबाट प्राप्त कागजातहरूको अध्ययन र मूल्यांकनपश्चात स्मारक संरचना निर्माणको लागि सर्तसहित अनुमति दिएपछि बुधबार भूमिपूजन गरिएको र बिहीबारदेखि निर्माण कार्य सुरु गरिएको नेपाली कांग्रेसका नेता जीवनाथ चौधरीले जानकारी दिए ।

यसअघि गुठी संस्थानले पोखरी क्षेत्रको ऐतिहासिक र धार्मिक संवेदनशीलता देखाउँदै निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । तर, रामनारायण मिश्र स्मारक समितिले जनकपुरधाम उपमहानगरपालिकाबाट प्राप्त पहिलो चरणको निर्माण स्वीकृति पत्र तथा भूमिसुधार तथा मालपोत कार्यालय धनुषाबाट श्रेस्ता कायम भएको पूर्जासहितको प्रमाण पेश गरेपछि अवस्था स्पष्ट भएको नेता चौधरीले बताए ।

गुठी संस्थानका प्रमुख आनन्दप्रसाद कर्माचार्यद्वारा जारी पत्रमा भनिएको छ, ‘गंगासागर पोखरीमा असर नपर्ने गरी मात्र निर्माण कार्य गर्न सकिने जानकारी गराइन्छ ।’ स्मारक समितिलाई प्रचलित कानुन, मापदण्ड र ऐतिहासिक पोखरी क्षेत्रको संरक्षणलाई मध्यनजर गर्दै निर्माण कार्य अगाडि बढाउन निर्देशन दिइएको छ । पोखरीको सौन्दर्य, ऐतिहासिकता र सार्वजनिक उपयोगिता कायम राख्नेतर्फ विशेष सावधानी अपनाउन भनिएको छ ।

रामनारायण मिश्र स्मारक समितिका पदाधिकारीहरूले निर्माण कार्यले जनकपुरधामको सांस्कृतिक र ऐतिहासिक मूल्य थप उच्च बनाउने विश्वास व्यक्त गरेका छन् । ‘हामी स्मारकलाई जनकपुरधामको शानको रूपमा विकास गर्न चाहन्छौं,’ कांग्रेस नेता डा. सज्जन ठाकुरले भने, ‘गंगासागरको गरिमा र कानुनी मापदण्डमा पूर्ण रूपमा आधारित भएर निर्माण कार्य अघि बढाइएको छ ।’

स्व. रामनारायण मिश्र नेपालको राजनीतिमा एक सशक्त हस्ताक्षर मानिन्छन् । नेपाल सरकारका पूर्वमन्त्री समेत रहेका मिश्रले मधेशको सामाजिक र शैक्षिक उत्थानका लागि ठूलो योगदान पुर्याएका थिए । यही योगदानको सम्मानस्वरूप स्मारक निर्माणको परिकल्पना गरिएको बताइएको छ ।

गुठी संस्थानको स्वीकृति र कानुनी आधारमा अब स्मारक निर्माण कार्यले गति लिएको छ । ऐतिहासिक पोखरी क्षेत्रको संरक्षण सुनिश्चित गर्दै स्मारकले जनकपुरधामको सांस्कृतिक नक्सामा नयाँ आयाम थप्ने नेता ठाकुरले बताए । स्थानीयवासीहरू भने पोखरीको मौलिकता जोगाएर विकास हुने खालको सन्तुलित संरचना निर्माणमा जोड दिन आग्रह गरिरहेका छन् ।