जनकपुरधाम, ४ वैशाख । धनुषा जिल्लाको लक्ष्मिनीया गाउँपालिकामा अवस्थित त्रिदेव अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आफ्नो २५औं स्थापना दिवस तथा रजत जयन्ती समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।

विगत २५ वर्षदेखि मधेशको ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षाको उज्यालो फैलाउँदै आएको यस संस्थाले सामाजिक उत्तरदायित्व पनि उत्तिकै बहन गर्दै आएको सहभागी वक्ताहरूले बताए ।

समारोहका प्रमुख अतिथि पूर्वराजदूत प्रा.डा. रामस्वार्थ रायले त्रिदेव विद्यालयले ग्रामीण भेगमा अंग्रेजी माध्यमको शिक्षालाई सुलभ बनाउँदै आएको प्रशंसा गर्दै भने, ‘शिक्षा भनेको समाजको मेरुदण्ड हो । त्यही मेरुदण्डलाई मजबुत बनाउने कार्य त्रिदेवले एक समर्पित शिक्षालयको रूपमा गर्दै आएको छ ।’ उनले शिक्षामार्फत सामाजिक रूपान्तरण सम्भव भएको उल्लेख गर्दै विज्ञान, प्रविधि र नैतिकताको समिश्रणमा आधारित शिक्षाको आवश्यकता औंल्याए ।

विशिष्ठ अतिथि तथा मधेश प्रदेश सभा सदस्य रामअशिष यादवले त्रिदेव विद्यालयले गुणस्तरीय शिक्षा दिनुका साथै संस्कार, संस्कृति र सामाजिक भावनालाई पनि उत्तिकै सघाएको बताए । ‘आजका विद्यार्थी भोलिका नेता, वैज्ञानिक र समाजसेवी हुन् । त्यसकारण विद्यालयको दायित्व अझ ठूलो छ,’ उनले भने ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय तथा जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उनीहरूले त्रिदेव विद्यालयले विगत २५ वर्षमा आफूलाई ग्रामीण शिक्षा क्षेत्रमा स्थापित गर्दै आधुनिक शिक्षण पद्धतिलाई आत्मसात गरेको बताए ।

लक्ष्मिनीया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झाले विद्यालयले गाउँपालिकाको शैक्षिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै पालिकाले समेत आगामी दिनमा विद्यालयसँग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताए ।

विद्यालयका संस्थापक ब्रम्हदेव यादवको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा विद्यालयका सञ्चालक नवल यादवले सबै अतिथि, अभिभावक र शिक्षकहरूलाई स्वागत गर्दै आगामी दिनमा विद्यालयलाई अझ प्रगतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कबिर बाल आश्रमका सञ्चालक सन्त आलोकलाई विद्यालय परिवारद्वारा सम्मान गरियो । साथै, बाल आश्रमका बालबालिकाको लागि खाद्यान्न सामग्री र शैक्षिक सामग्री (कापी–कलम) हस्तान्तरण गरियो ।

विद्यालयका नानीबाबुहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रम, विशेषगरी जातीय तथा लोक नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।