परोक्सी ब्युटी एण्ड ट्रेनिङ हब जनकपुर ब्राञ्चको पहिलो वार्षिकोत्सव सम्पन्न

जनकपुरधाम, ४ वैशाख । परोक्सी ब्युटी एण्ड ट्रेनिङ हब यूनिसेक्स सैलुन जनकपुर ब्राञ्चले आफ्नो प्रथम वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ । सैलुनको जनकपुर शाखा सञ्चालनमा आएको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमले महिला सशक्तिकरण, उद्यमशीलता र व्यवसायिक प्रशिक्षणको भूमिकालाई प्रमुख विषय बनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले देशमा व्याप्त भ्रष्ट शासन व्यवस्थालाई प्रहार गर्दै महिलालाई निर्णयात्मक भूमिकामा ल्याउनुपर्नेमा जोड दिए । ‘हामीले जुन शासन प्रणाली देखिरहेका छौं, त्यो भ्रष्टाचार, अन्याय र अवसरवादी सोचले निर्देशित छ,’ उनले भने, ‘यसको अन्त्य महिला नेतृत्वबाटै सम्भव छ । यस्ता तालिम केन्द्र र उद्यमशील संस्थाहरूले महिलालाई निर्णायक भूमिकातर्फ उन्मुख गराउन मद्दत गर्छन् ।’

विशिष्ठ अतिथि प्रा.डा. आशा सिन्हाले युवतीहरूलाई आत्मनिर्भर बनाउने अभियानमा यस्ता संस्थाहरूको योगदान अतुलनीय रहेको बताउँदै भनिन्, ‘पार्लर, ब्युटी ट्रेनिङ र व्यावसायिक सीपले आजका महिलालाई घरभित्र सीमित रहने बाध्यता तोड्न सकिने बाटो दिएको छ ।’
संस्थाका संस्थापक संघर्ष थापाले परोक्सी हबलाई ‘परिवार’को रूपमा अघि बढाउने उद्देश्य रहेको उल्लेख गर्दै यो संस्था बेरोजगार महिलाहरूको लागि रोजगारी र आत्मनिर्भरता हासिल गर्ने ‘हब’का रूपमा विस्तार भइरहेको बताइन् । ‘हाल काठमाडौंमा हेड अफिस रहेको हाम्रो संस्थाले निकट भविष्यमा देशभर ११ वटा शाखा सञ्चालन गर्ने लक्ष्य लिएको छ,’ थापाले भनिन् ।

थापाका अनुसार जनकपुर ब्राञ्चले एक वर्षको छोटो अवधिमा दर्जनौं महिलालाई ब्युटी, हेयर र मेकअपसम्बन्धी प्रशिक्षण प्रदान गरिसकेको छ । कार्यक्रमका क्रममा प्रशिक्षार्थीहरूले आफ्ना अनुभव सुनाउँदै भनिन्, ‘पार्लरको वातावरण विद्यालयजस्तै अनुशासित, मैत्रीपूर्ण र सिक्ने अनुकूल छ । हामीले यहाँ आत्मविश्वास र व्यावसायिक क्षमता दुवै पाएका छौं ।’ कार्यक्रममा प्रशिक्षार्थीहरूलाई सर्टिफिकेट वितरणसमेत गरिएको थियो ।
परोक्सी ब्युटी एण्ड ट्रेनिङ हबको यो प्रयासले जनकपुरका महिलाहरूलाई सीपयुक्त र आत्मनिर्भर बनाउने दिशामा सकारात्मक प्रभाव पारिरहेको वक्ताहरुले बताए । स्थानीय स्तरमा यस्ता व्यावसायिक संस्था र सामाजिक सोचबीचको समन्वयले भविष्यमा अझ सशक्त र समान अवसरयुक्त समाज निर्माणमा मद्दत गर्ने अपेक्षा गरिएको उनीहरुले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


