पालिकाको निर्णयलाई अभिभावकको समर्थन

जनकपुरधाम, ४ वैशाख । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयमा पाठ्यपुस्तकको एकरुपता अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको चैत २९ गते बसेको बैठकको निर्णयअनुसार अब सबै विद्यालयले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति प्राप्त पाठ्यपुस्तकमात्र प्रयोग गर्नुपर्नेछ ।
उपमहानगरपालिका अन्तर्गतका अधिकांश निजी विद्यालयहरूले उक्त निर्णय कार्यान्वयन गरिसकेका छन् भने अभिभावकहरूले समेत पालिकाको यस कदमलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार विगतमा विभिन्न विद्यालयहरूले आ–आफ्नै पुस्तक प्रकाशन संस्थासँग मिलेर फरक–फरक पाठ्यपुस्तक लागू गर्ने, महँगा र अपायक पुस्तक खरिद गर्न विद्यार्थीलाई बाध्य पार्ने जस्ता व्यवहारले शिक्षा क्षेत्रमा अनावश्यक आर्थिक बोझ सिर्जना भएको थियो ।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले सार्वजनिक सूचना जारी गर्दै बाँकी रहेका विद्यालयहरूले पनि तुरुन्तै पालिकाको निर्देशन कार्यान्वयन गर्न आग्रह गरेका छन् । उनका अनुसार, ‘यदि कुनै विद्यालयले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तकबाहेक अन्य थप सामग्री वा सन्दर्भ पुस्तकहरू लागू गर्न चाहन्छ भने सम्बन्धित पुस्तकको विवरण र प्रयोग गरिने प्रकाशनको नाम पालिकामा तुरुन्त पेश गर्नुपर्नेछ ।’
साथै, कतिपय विद्यालयहरूले विद्यालयकै नाम अंकित कपी प्रयोग गर्न लगाउने, विद्यालय परिसरभित्रै पुस्तक तथा शैक्षिक सामग्री बिक्री गर्ने र विद्यालयले तोकेको विशेष पुस्तक पसलबाट मात्र किनमेल गर्न अभिभावकलाई बाध्य पार्ने जस्ता गुनासा पालिकामा प्राप्त भएको कर्णले जानकारी दिए । पालिकाले यस्ता क्रियाकलाप नगर्न र नगराउन सबै विद्यालयलाई चेतावनी दिएको छ ।

उक्त निर्देशन उल्लङ्घन गर्ने विद्यालयहरूविरुद्ध भने नियम तथा कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ ।
शिक्षा क्षेत्रमा समानता, पारदर्शिता र पहुँच सुनिश्चित गर्न जनकपुरधाम उपमहानगरपालिकाले लिएको यो निर्णयलाई शिक्षा विशेषज्ञहरूले समेत सकारात्मक मानिरहेका छन् । स्थानीय शिक्षक, अभिभावक र समाजसेवीहरूले पालिकाले शिक्षा प्रणालीलाई सुधारतर्फ उन्मुख गराउन थालेको भन्दै स्वागत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


