जनकपुरधाम, ३ वैशाख । जनकपुरधाम उपमहानगरपालिका–४ मा निर्माणाधीन रामनारायण मिश्र स्मारक संरचना अब पोखरी क्षेत्रमा असर नपर्ने सर्तसहित अगाडि बढ्न सक्ने भएको छ ।

यस विषयमा रामनारायण मिश्र स्मारक समितिबाट प्राप्त कागजातहरूमाथि मूल्यांकन गरेपछि गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले निर्माण कार्य अघि बढाउन स्वीकृति दिएको हो ।

यसअघि गुठीले स्मारक निर्माण कार्यलाई रोक्का गर्न पत्राचार गरेको थियो । स्मारक समितिलाई संरचना निर्माण रोक्न अनुरोध गरिएको थियो । तर, समितिले पुनः प्रतिउत्तर पठाउँदै आवश्यक सबै प्रमाणसहितको विवरण पेश गरेपछि अवस्था स्पष्ट भएको हो ।

समितिले आफ्नो प्रतिउत्तरमा जनकपुरधाम उपमहानगरपालिकाबाट प्राप्त प्रथम चरणको निर्माण इजाजतपत्र र भूमिसुधार तथा मालपोत कार्यालय धनुषाबाट श्रेस्ता कायम भएको जग्गाको प्रमाणस्वरूप जग्गाधनी दर्ता प्रमाण–पत्र (पूर्जा) प्रमाणको रुपमा पेश गरेको थियो ।

यी प्रमाणहरूका आधारमा निर्माण कार्य नियमानुसार रहेको जनाउँदै गुठी संस्थानले कानुनी मापदण्डको पालना गर्नुपर्ने शर्तसहित स्मारक निर्माणको अनुमति दिएको हो ।

स्मारक संरचना गंगासागर पोखरी क्षेत्रसँग प्रत्यक्ष संलग्न हुने गरी निर्माण नगर्न आग्रह गरिएको छ । पोखरी क्षेत्रको संरक्षण, सौन्दर्य र ऐतिहासिक महत्वलाई ख्याल गर्दै निर्माण कार्य अगाडि बढाइनुपर्ने गुठीको निर्देशन छ ।

कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यद्वारा जारी गरिएको पत्रमा भनिएको छ, ‘प्रचलित कानूनको मापदण्ड अनुसार गंगासागर पोखरीमा असर नपर्ने गरी मात्र निर्माण कार्य गर्नु हुन जानकारी गराइन्छ ।’