जनकपुरधाम, ३ वैशाख । पछिल्लो समय शिक्षाको गुणस्तर र नीतिगत अन्यौलताविरुद्ध आन्दोलनरत शिक्षकहरूलाई समाजवादी विद्यार्थी युनियन नेपालले ऐक्यबद्धता जनाएको छ । संगठनले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूको माग जायज रहेको र ती माग सरकारले तुरुन्त सम्बोधन गर्नु पर्ने माग राखेको छ ।

शिक्षा क्षेत्रलाई देशको मेरुदण्डका रूपमा चित्रित गर्दै संगठनले सरकारको अदूरदर्शी नीति, त्रुटिपूर्ण व्यवस्थापन र कानुनी कमजोरीले आजको शिक्षा प्रणाली अन्यौल, दिशाहीनता र गुणस्तरहीनतामा फसिरहेको आरोप लगाएको छ ।

२०७९ सालदेखि सरकारसँग शिक्षकहरूले विभिन्न चरणमा संवाद र दवावका कार्यक्रमहरू गर्दै आएका छन् । तर, शिक्षकहरूको न्यायोचित मागहरूप्रति सरकार उदासीन बनेपछि २०८१ माघ २० गतेदेखि आन्दोलनको नयाँ चरण सुरु भएको हो ।

२०८१ चैत २५ गतेदेखि देशभर शैक्षिक हडतालको घोषणा गरिएको यो आन्दोलनको मूल माग भनेको ‘गुणस्तरीय, विद्यार्थी–शिक्षक मैत्री विद्यालय शिक्षा ऐन’ ल्याइनु पर्नेमा केन्द्रित छ ।

समाजवादी विद्यार्थी युनियन, नेपालले शिक्षकहरूका माग निश्चय नै देशको समग्र शैक्षिक सुधारसँग जोडिएको भन्दै आन्दोलनलाई समर्थन गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकको आन्दोलन जनताको आन्दोलन हो । शिक्षक भनेको समाजका मेरुदण्ड हुन् भने विद्यार्थी तिनका प्रतिविम्ब । शिक्षकको हक र अधिकार खोसिएको स्थितिमा शिष्य पनि चुप लागेर बस्न सक्दैन ।’

संगठनले चेतावनी दिँदै भनेको छ, ‘यदि सरकार अझै पनि गम्भीर बन्ने संकेत देखिँदैन भने शिक्षकको हक–हित र शिक्षाको सम्मानका निम्ति विद्यार्थीहरू पनि आन्दोलनका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन् ।’

विज्ञप्तिमा सरकारलाई तत्काल आन्दोलनरत पक्षसँग वार्ता थाल्न, त्रुटिपूर्ण ऐन तथा नीतिहरू सच्याउन र न्यायोचित माग सम्बोधन गर्न आग्रह गरिएको छ । साथै, विद्यार्थीहरूलाई शैक्षिक वातावरण दिनु सरकारको कर्तव्य रहेको स्मरण गराइएको छ ।